काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको भ्रमण अझै पनि अलमलमै छ। विगतमा नेपालमा प्रधानमन्त्री बनेलगत्तै छिमेकी देश भारतको भ्रमण हुने गरेपनि यसपटक ओली प्रधानमन्त्री बनेको ९ महिना बितिसक्दासमेत भारतले भ्रमणको निम्तो नदिएपछी ओलीको भ्रमण अन्यौल बनेको हो ।
नेपालमा नयाँ संविधान जारी भएपछी असन्तुष्ट देखिएको भारतबाट ओली प्रधानमन्त्री रहेका बेला लगाएको नाकाबन्दी र पछी भारतले हडपेको नेपाली भुमी लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछी मदभेद बढेको थियो। सोही मतभेद नेपाल भारतभन्दा पनि ओली र मोदीमा निहित बन्न पुग्यो ।
सोही मतभेद अन्त्य गर्न र दुईदेशबिचको सम्बन्ध सुमधुर कायम देखाउन दुबै देशलाई अन्तराष्ट्रिय जगतमा पनि नैतिक दवाब देखिन्छ। जसकारण प्रधानमन्त्री ओली निम्तो कुरेको कुरै गरेपनि भारतले टारेको टार्यै गर्दा अहिलेसम्म न ओलीको भारत भ्रमण हुन सकेको छ नत मोदी नै नेपाल भ्रमण आउन तयार देखिन्छन् ।
तर, दुई समकक्षीबिच एकपटक अमेरिका र दोश्रोपटक हालै थाइल्याण्ड भ्रमणका क्रममा भेटवार्ता भने भएको छ। उक्त भेटवार्तामा सौहार्दपूर्ण वार्ता भएको र छिट्टै दुबै देशको भ्रमण हुने कुरा ओली र मोदी दूबैजनाले जनाएपनि भ्रमणको वाताबरण भने अझै मिल्न सकेकोे छैन ।
उक्त थाइल्याण्ड भ्रमणपछी भारतले ओलीलाई तत्कालै निमन्त्रणा दिने अपेक्षासमेत गरिएकोमा दुबैजना स्वदेश फर्किएको १ साता पुरा हुनासाथ यो विषय फेरी सेलाएपछी ओलीको भारत भ्रमण अलमलमै सिमित हुने सम्भावना बढेको भन्दै विभिन्न टिप्पणी हुन थालेको छ।
यही आलोचना चिर्न पनि प्रधानमन्त्री ओली जतिसक्दो छिटो भारत भ्रमण गर्ने चाहनामा देखिनुहुन्छ। थाइल्याण्डमा मोदीसँग सौहार्दपूर्ण भेटवार्ता भएको बताउँदै नेपाल फर्किनुभएका ओली अहिलेसम्म आफ्नै कारणले नभ्याएपनि अव छिट्टै भारत भ्रमण हुने बताउनुभएको थियो ।
त्यसपछी पनि सरकारमा सहभागी दल र नेताहरु भने ओलीको भारत भ्रमणको मेसो मिलाउन जोडबल गरिरहेका छन्। ओलीलाई भारत भ्रमण गराउने विषयमा नेपाल अलमलमा नरहेको बताउँदै सरकारको नेतृत्वकर्ता एवं स्वयं ओलीकै दल नेकपा एमालेका सांसद ठाकुर गैरेले विगतदेखी नै भारतसँग नेपालका धेरै समस्या रहेकोले ती समाधानको वाताबरण बनाउन समय लागेको बताउनुहुन्छ । ति समस्या सबै समाधान गर्नेगरी ओलीको भारत भ्रमण हुने उहाँको दाबी छ।
सरकारमै सहभागी दल नेपाली कांग्रेस पनि ओलीले ढिलोचाँडो भारत भ्रमण हुनेमा विश्वस्त देखिन्छ। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले नेपाल भारतविचको सम्बन्ध सदियौंदेखीको रहेकोले यसलाई सुमधुर राख्नु दुबै देशको दायीत्व रहेकोले छिट्टै दुबै समकक्षीले दुवैदेशको भ्रमण गर्ने बताउनुहुन्छ। सरकारले आवश्यक चाँजोपाँजो मिलाईरहेको उहाँको भनाई छ ।
यसअघी पटकपटक भएका परराष्ट्रमन्त्री तथा अन्य मन्त्रीहरुका भारत भ्रमणमा पनि यस विषयले चासो नपाएको होइन। त्यतिबेला पनि मोदीले नै वेवास्ता गरेपछी अहिलेसम्म ओलीको भारत भ्रमण नहुँदा यता विपक्षी दल र नेताहरुलाई भने आलोचना गर्ने मार्ग प्रशस्तै देखिन्छ।
विपक्षी दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले ओली र मोदीबिच सम्बन्धमा दरार आएको र अविश्वास कायम रहेकोले अहिलेसम्म ओलीले भारत भ्रमणको निम्तो नपाएको टिप्पणी गर्नुभयो।
तर जानकारहरु भने नेपाल भारत सम्बन्धमा अहिले आएर दरार आएको नभै नेपालमा नयाँ संबिधान जारी भएदेखि नै सुरु भएको बताउँछन्। राजनैतिक विश्लेषक मुमाराम खनालले नेपालमा संविधान जारी भएपछीका हरेक भ्रमण औपचारिकतामै सिमित हुने गरेको र सिमा समस्यादेखी अन्य दर्जर्नौ समस्या समाधानमा कुनै कामै नहुने गरेकोले अब हुने भ्रमणले देखावटी प्रभाव परेपनि देशमा अन्य प्रभाव नपर्ने बताउनुभयो । उहाँले अहिले नै ओलीको भ्रमण हुने सम्भावना पनि नरहेको र यदी भ्रमण भैहाले पनि उपलब्धीमुलक नहुने जिकिर गर्नुभयो ।
दुइ छिमेकी नेपाल भारतबिचको सम्बन्ध सदियौंदेखीको छ। यसअघी नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ भारत भ्रमण मा निस्किहाल्ने पद्धतिले यसपटक बढी चासो देखिनु स्वभाविक पनि हो। अर्कातिर दुईदेशबिच खुला सिमाका कारण दर्जनौं समस्या कायम छन्। तसर्थ अब हुने भ्रमणमा यस्ता समस्या दिर्घकालिन रुपमा समाधान हुने गरी र दुईदेशबिचको सम्बन्ध थप सुमधुरमा केन्द्रित गर्न आवस्यक छ। औपचारिकतामा सिमित हुने भ्रमणले कुनै अर्थ राख्दैन ।।