काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले खर्च निकासा गर्नुभएको छ । खर्च निकासा गरेसँगै महानगरमा करिब चार महिनादेखि रोकिएको तलबसुविधा भुक्तानी हुने भएको छ ।
महानगरका प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार, गुरागाईंले आज कार्यालय समयमै कमलादीस्थित कार्यकक्षमा पुगेर खर्च निकासा फाइलमा हस्ताक्षर गर्नुभएको हो । गुरागाईंले खर्च निकासा गरेसँगै कर्मचारीको खातामा तलब पनि आगामी सोमबारसम्म जाने काफ्लेले जानकारी दिनुभयो ।
आइतबार पनि सार्वजनिक बिदा भएकाले महानगरका कर्मचारीको ६ महिनादेखि रोकिएको तलब सोमबारमात्र खातामा जाने उहाँको भनाई छ । काठमाडौं टावरको विषयलाई लिएर मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न रोकेका थिए ।
टावर निर्माण प्रक्रिया अनियमित रूपमा अघि बढाउन दिएर भ्रष्टाचार गरेको आरोप शाहले गुरागाईंमाथि लगाएर उहाँको कार्यकक्षमा ताला लगाउनुभएको थियो ।
तर, तीन महिना १४ दिनपछि बिहीबार वडाध्यक्ष र कर्मचारीहरूको जोडबलमा गुरागाईं कार्यकक्ष छिर्नुभएको थियो । उहाँले बिहीबार कार्यकक्षमा पुगेर हाजिर गरेपछि आज खर्च निकासा गर्नुभएको हो ।
उपमेयर सुनिता डङ्गोल, कार्यपालिका सदस्यहरू, वडाध्यक्ष र कर्मचारीले समेत साथ दिएर गुरागाईंलाई काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रवेश गराएका थिए । तर, उता नगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव शाहले भने भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कार्यालयमा छिराएको भन्दै दोषी देखिए यसमा सङ्लग्न सबै जेल जान तयार हुनुपर्ने चेतावनी दिनुभएको छ ।