Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राजावादीले गरेको हिंसात्मक घटनाको विषयमा संसद्मा राप्रपा र गणतन्त्रवादी दलहरूबीच भनाभन, आफूलाई जेल हालेर देखाउन राप्रपा अध्यक्ष लिङ्देनको चुनौती (खास खबर)

राजावादीले गरेको हिंसात्मक घटनाको विषयमा संसद्मा राप्रपा र गणतन्त्रवादी दलहरूबीच भनाभन, आफूलाई जेल हालेर देखाउन राप्रपा अध्यक्ष लिङ्देनको चुनौती (खास खबर)

  • आइतवार, चैत्र १७ २०८१

  • 856
    SHARES

  • राजावादीले गरेको हिंसात्मक घटनाको विषयमा संसद्मा राप्रपा र गणतन्त्रवादी दलहरूबीच भनाभन, आफूलाई जेल हालेर देखाउन राप्रपा अध्यक्ष लिङ्देनको चुनौती (खास खबर)

    काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक घटनाको विषयलाई लिएर आज आईतवार संसद्मा तनावपूर्ण स्थिति बन्यो । जसका कारण सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गर्नुपर्यो ।

    बैठकका क्रममा गणतन्त्रवादी दल र राप्रपाका नेताहरूबीच भनाभन भएको थियो । राजतन्त्रवादीलाई संसद्बाट निकाल्नुपर्छ भन्ने आरोप लागेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आक्रोशित बन्नुुभएको थियो । लिङ्देनले आफूलाई निकाल्न चुनौती दिनुभएको थियो । बैठकको शुरूमै प्रतिपक्षी सांसद उठेर विरोध जनाएका थिए ।

    संसद्मा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि सत्तापक्षका सांसदले शुक्रबार तीनकुनेमा भएको घटनाको विषयलाई लिएर बोल्नका लागि आवाज उठाएका थिए । सत्ता र प्रतिपक्षका सांसदले बोल्नका लागि समय माग गरेपछि सभामुखले बैठक सञ्चालन हुन आवश्यक रहेको बताईरहनुभएको थियो । तर सांसद्हरुले विरोध गरिरहेका थिए ।

    कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्ती गरिएको विरोधमा माओवादी लगायत विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । आजको बैठकअघि सभामुख देवराज घिमिरेले दलहरूसँग परामर्श पनि गर्नुभएको थियो ।

    आजको बैठक अवरुद्ध हुनुमा सत्तापक्ष र प्रतिपक्षी एकअर्कामा दोषरोपण गरिरहेका छन् । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको दाबी गर्नुहुन्छ ।

    उहाँले देशमा समस्या परेको बेलामा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको आरोप लगाउनुभयो । सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाउनुभयो ।

    सत्तापक्ष नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताउनुहुन्छ । उहाँले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताउनुभयो । पन्तले पूर्वराजाको नेतृत्व र निर्देशनमा तीनकुने घटना भएको दाबी गर्दै त्यसबारेमा संसदमा छलफल गरेर प्रष्ट र साझा धारणा बनाउनुपर्नेमा जोड दिनुहुन्छ । प्रधानमन्त्रीले संसदमा जवाफ दिन आउँछु भन्दा भन्दै विपक्षीले संसद अवरुद्ध गर्नु उचित नभएको पन्तको दाबी छ ।

    यता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आज संसदको लाइभ सुनियोजित ढंगले काटिएको आशंका गर्नुभएको छ । सांसद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु गैरजिम्मेवार बन्दै गएको र शुक्रबारका घटनाप्रति संवेदनशील नरहेको आरोप लगाउनुहुन्छ । प्रतिनिधिसभा बैठक अव भोलि सोमवार बस्दैछ । प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै टेलिफोन संवाद पनि भएको छ । र संसद्मा सम्बोधन गर्ने सहमति पनि भएको हो । तीनकुने घटनापछि अहिले गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने कुरा उठिरहेको छ ।

     


    आइतवार, चैत्र १७ २०८१०७:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij