काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबिच संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका एमाले नेता अग्नि खरेलले सर्च कमिटी गठन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाउनु भएको छ ।
‘आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउँछ’, सल्लाहकार खरेलले भने, ‘प्रक्रिया अघि बढ्छ ।’ सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुने भएको छ ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो । तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी हुनुभएको थियो ।
यसैवीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । आज चितवनबाट काठमाडौँ फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो । भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।