काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनुभएको छ ।
ऋाज सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताउनुभयो ।
शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत सबैको भएको उहाँको भनाई छ ।
स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयो । राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण समेत गाराउनुभयो ।
देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने उहाँको भनाई छ ।