काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जघन्य अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्नुभयो । दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको बताउँदै उहाँले यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरिएको बताउनुभयो ।
सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताउनुभयो । उहाँले सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।
सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिका १९ वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगबाट नागरिकलाई जोगाउने योजना ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ।
त्यसैगरी सांसद रेणु चन्दले राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले गुल्मी छत्रकोट रुरु गाउँपालिकाका उखु किसानलाई व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गर्नुका साटो विभिन्न बहानामा किसानलाई दुःख दिने काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।