Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा खानेपानी, कृषि र जलविद्युतमा असर : भूमिगत जलस्रोत प्रदूषित हुँदै - पानीको सही सदुपयोग र स्रोतहरूको संरक्षणमा जोड (खास खबर)

जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा खानेपानी, कृषि र जलविद्युतमा असर : भूमिगत जलस्रोत प्रदूषित हुँदै - पानीको सही सदुपयोग र स्रोतहरूको संरक्षणमा जोड (खास खबर)

  • शनिवार, चैत्र ९ २०८१

  • 632
    SHARES

  • जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा खानेपानी, कृषि र जलविद्युतमा असर : भूमिगत जलस्रोत प्रदूषित हुँदै - पानीको सही सदुपयोग र स्रोतहरूको संरक्षणमा जोड (खास खबर)

    काठमाडौं । पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकसित भएको हो । त्यसैले जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

    “पानी जीवनको आधार हो । पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन । यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ ।” विश्व पानी दिवसको अवसरमा पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ ।

    पानीको सही सदुपयोगमा लाग्नु आजको प्रमुख आवश्यकता भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्का पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताउनहुन्छ ।

    जलश्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड हुन् । अहिले जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री खड्का हिमनदीहरू खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको उल्लेख गर्नुहुन्छ ।

    बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको छ । त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको छ । जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको मन्त्री खड्काको भनाई छ ।

    पानी दैनिक जीवनको मात्र नभई आर्थिक समृद्धिको वाहक पनि हो । पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री खड्काको दाबी छ ।

    जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी रहेकोमा जोड दिनुहुन्छ ।

    स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास)को सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको पनि मुख्य आधार हो ।

    जनताको पानी र सरकारको लगानी भन्दै खानेपानीमन्त्री यादवले अब पानीमा शुन्य प्रतिशत जनताको रहने गरि र सरकारको सय प्रतिशत रहने गरि नेपाल सरकारले लगानी गर्ने राय राख्नुहुन्छ ।

    सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य राखेको छ । खानेपानी मन्त्री यादवले सरकारको लक्ष्यबारे जानकारी दिनुभयो ।

    सुधारिएको स्वच्छता र फोहोर पानी व्यवस्थापनका लागि ठोस लगानी गर्दै शहरी तथा ग्रामीण दुवै क्षेत्रमा सन्तुलित विकास गर्ने, महिनावारी स्वास्थ्य व्यवस्थापन, सामुदायिक शौचालय तथा सरसफाइ बजार प्रवद्र्धन गर्न पूर्वाधार लगायतका प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको मन्त्री यादव बताउनुहुन्छ ।

    नेपाल सरकारको आयोजनामा काठमाडौंमा आज र भोलि राष्ट्रिय पानी सम्मेलन–२०२५ जारी छ । जल तथा ऊर्जा आयोग सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ । जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा उहाँको जोड छ ।

    भूमिगत जलस्रोतको अतिदोहन तथा शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह घट्दै छ । अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ । त्यसैले, हामीले पानीको प्रभावकारी व्यवस्थापन, स्वच्छता तथा समावेशी नीति निर्माणतर्फ ध्यान दिनुपर्छ । पानीको महत्व बुझौँ, पानी बचाऔँ र स्वस्थ भविष्य निर्माणमा योगदान दिऔँ ।”

     


    शनिवार, चैत्र ९ २०८१०७:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij