काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अबको भरोषा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको बताउनुभएको छ ।
तराई–मधेश जागरण अभियानअन्तर्गत आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले अभियानमा पार्टीप्रति ठूलो लहर देखिएको बताउनुभयो ।
माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको बताउँदै प्रचण्डले मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको दाबी गर्नुभयो ।
आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै प्रचण्डले २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको दाबी गर्नुभयो । जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेकाले आफुमाथी ठुलो जिम्मेवारी आइलागेको समेत उहाँले बताउनुभयो ।
अहिलेको सरकारले भ्रष्टाचारीलाई रक्षा गर्न केन्द्रित भएकाले इतिहास भएकाहरुले टाउको उठाउन खोजेको आरोप लगाउँदै प्रचण्डले चैत १५ गतेसम्म पुग्दा नपुग्दै आफूहरुको प्रतिवादले प्रतिक्रियावादीहरुको प्रयास असफल हुने जिकिर गर्नुभयो ।