काठमाडौं। नेपाल वर्षाैदेखी अस्थिर राजनीतिको गोलचक्करमा फसेको छ। पुराना दलहरु गैरजिम्मेवार बन्दा र च्याउसरी उमिएका नयाँ दलहरु पनि जिम्मेवार बन्न नसक्दा नेपाल अस्थिर राजनीतिको भुमरीमा फस्न पुगेको हो ।
अस्थीरताको दलदलमा फसेकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाको डेढ दशक बढी हुँदा पनि न जनताहरुले सोचेअनुसार विकास र समृद्धिको अनुभुति गर्न पाए नत कायम असन्तुष्टि नै अन्त्य हुनसक्यो । उल्टै दिनानुदिन युवाहरुको विदेश पलायन,झनझन् खस्किँदो अर्थतन्त्र लगाएत, बढ्दो भ्रष्ट्राचार र बेथीतिका देश अन्तराष्ट्रिय जगतमा पटकपटक ग्रे लिस्टमा परेपछी आम सर्वसाधरणमा व्यापक असन्तुष्टि र आक्रोश बढ्दै गएको छ।
अर्कातिर सिमित दल र तिनका नेतृत्वकर्ताको सत्ता स्वार्थ र पदिय लोलुपताका कारण महिना महिनामा हुने सरकार परिवर्तन र त्यसकै चङ्गुलबाट ग्रसित प्रदेश सरकारले जनतामा डेलिभरीको सट्टा आक्रोश थप्दै गएपछी आम जनमनसमा बढ्दो असन्तुष्टिलाई देखाएर व्यबस्था विरोधीहरु सक्रिय बन्दै गएपछी वर्तमान व्यबस्था नै संकटमा पर्ने जोखिम बढेको छ।
यता यी समस्याको मुल जड अस्थिर राजनीतिलाई मत्थर पार्ने र संविधान संशोधन नै गरेर देशलाई निकास दिनेभन्दै मुलुकका मुख्य दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहमतीबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारको पुरा आठ महिना पार गरिसकेको छ। तर जनअपेक्षाअनुसार काम गर्न नसकेपछी सरकारप्रति विश्वास र भरोसा बढ्नुपर्नेमा असन्तुष्टि र आक्रोश नै बढ्दो देखिन्छ।
यहीबिचमा करिब दुई दशक पहिले नै अन्त्य भैसकेको २४०वर्षे राजसँस्थाको पक्षमा राजावादी दल र समुह वर्तमान व्यबस्थाविरुद्ध सलबलाउन थालेका छन्। यसले व्यवस्थामाथी प्रश्न उठाएको छ। यस्तो अवस्थामा अस्थीर राजनीतिका मुख्य जवाफदेही राजनैतिक दल र तिनका नेतृत्वकर्ता जिम्मेवार देखिदैनन्।
खासगरी आँफु र आफ्नो दल सरकारमा रहँदा सबै ठिक र सत्ताबाहिर हुँनासाथ सबै गलत देख्ने र एकअर्कामा दोषारोपण गरेर उम्किने प्रयत्न अझै जारी देखिन्छ। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान जारी भएपछी ९ वर्षमा ११ वटा सरकार बनेको र त्यसमा तिनजना टाउकेहरुले सत्ता स्वार्थमा लिप्त बनेर देशका लागी कुनै चिन्तन नगर्दा देश अस्थीर राजनीतिको चङ्गुलमा फसेको आरोप लगाउनुभयो ।
यस विषयमा बेलाबेलामा संसदमा पनि आवाजहरु सुनिने गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले विगतमा मिलेका दलहरु पनि देशका लागी चिन्तन गर्न र समस्या समाधानमा जिम्मेवार बन्न नसक्दा अहिलेको अवस्था आएको र अहिले जनतामा देखिएको आक्रोश राजावदीको पक्षमा नभै इमान्दारीताका साथ व्यक्त भएको भावनामात्रै रहेको बताउनुभयो।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले अस्थिर राजनीति आम सर्वसाधरण तहमा अपाच्य बनेको बताउनुभयो। उहाँले अब दलहरुले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताउनुहुन्छ।
देशमा अहिलेसम्मका सबै परिवर्तन र उपलब्धी प्राप्तिमा भुमिका खेलेका मुख्य दल कांग्रेस एमाले यसमा थप जिम्मेवार बन्न जरुरी देखिन्छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अरु सबै कुरामा राम्रो भएपनि एउटै पार्टीले बहुमत ल्याउन नसक्दा सरकार निर्माणमा कुनै न कुनै दलसँग मिल्नुपर्ने वाध्यता हुँदा सोचेअनुसार नभएको र अस्थीरता कायम रहेको तर्क गर्नुहुन्छ।
तर सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री एवं मुलुकको दोश्रो ठुलो दल एमालेका अधयक्ष केपी शर्मा ओली भने पटकपटक देशमा कुनैपनि समस्या नरहेको अभिव्यक्ति दिने गर्नुहुन्छ। आज मात्रै प्रतिनिधी सभा बैठकमा सांसदहरुले देशमा विकास र समृद्धिका पक्षमा सरकारको प्रदर्शन राम्रो किन हुन सकेन? भन्ने प्रश्न गर्दा विकास र निर्माण तिब्र रुपमा भैरहेको दाबी गर्नुभयो। उल्टै प्रश्न नै यथार्थमा आधारित नभएको टिप्पणी गर्नुभयो ।
मुलतः गणतन्त्र स्थापनापछीको यो अवधीको अधिकांश समय सरकारको नेतृत्वमा कांग्रेस, एमाले र माओवादी नै रहेका छन्,भने त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री ओलीसँगै र पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले नै गर्नुभएको छ।
तसर्थ देशमा अस्थीर राजनितिले उत्पन्न परिस्थीतिको जस लिएर निकास दिने जिम्मेवारी पनि अरुको तुलनामा उहाँहरुकै दायीत्वमा बढी पर्छ। यसकारण अझैपनि आरोप प्रत्यारोपमा रहेर नभै देशलाई निकास दिन र आम जनतालाई विकास र समृद्धिको अनुभुति दिलाउनतर्फ केन्द्रीत हुन जरुरी छ ।