काठमाडौं। पछिल्लो समय बढेको राजावादीहरुको सक्रियताले त्रसित गणतन्त्रवादी दलहरु एकठाउँमा जुट्ने प्रयत्न सुरु हुन थालेको छ। यहीबिचमा गणतन्त्रवादी दलहरुबिच राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास सुरु भएको हल्लासमेत आज चर्चामा आएको छ ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र फागुन २५ गते शाहकै स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको राजावादीहरूको उल्लेख्य सहभागिताले झस्किएका गणतन्त्रवादी दलहरुले व्यवस्थामाथी नै अहिले खतरा उत्पन्न भएको निष्कर्ष मात्रै निकालेका छैनन् ती गतिवीधिलाई असफल पार्न एकैठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेका छन्।
यही बिचमा आज प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यबस्था खतरामा परेको र यसको रक्षाका लागी गणतन्त्रवादी दलहरु मिलेर अगाडी बढ्न प्रस्ताव गरेको चर्चा बाहिर आएको छ ।
केही दिन पहिले प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल र प्रचण्डबिच खुमलटारमै भएको भेटवार्तामा पनि प्रचण्डले राजावादी शक्तिहरु एकजुट भएर सलबलाउँदा व्यवस्थामाथि नै खतरा उत्पन्न भएकाले गणतन्त्रका पक्षधर पनि एकजुट हुनुपर्ने प्रस्ताव राखेको विषय बाहिरिएको थियो ।
प्रचण्डले एक अनौपचारिक संवादमा गणतन्त्रविरुद्ध राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई असफल बनाउन मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेको विषय सचिवालयबाटै बाहिरिएको थियो।
त्यसपछी आज ओली र देउवासँग प्रचण्डले गरेको संवादमा गणतन्त्रवादीहरू एक हुनुपर्ने र यसका लागि आँफुहरुका माग सरकारले पूरा गर्नुपर्ने प्रस्ताव राखेको र यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको चर्चा सतहमा आएको थियो। आज माओवादीकै सांसद लेखनाथ दाहालसहित केही जिम्मेवार नेताहरुले नै गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएपछी यो विषय थप चर्चामा पुगेको हो ।
आज संसद भवन परिसरमा सांसद दाहालले गण्तन्त्रविरोधी गतिवीधि सुरु भएकोले गणतन्त्रका पक्षधरबिच राष्ट्रिय सहमतीको सरकार बन्ने सम्भावना बढेको र त्यसका लागी छलफलसमेत सुरु भैसकेको बताउनु भएको थियो । तर, यता फेरी स्वयं दाहालको दल माओवादी केन्द्रसहित सरकारमा सहभागी दलहरुले दाहालको भनाई निराधार र गलत रहेको भन्दै खण्डन गरेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौला अहिलेको सरकार नै राष्ट्रिय सहमतीको सरकार भएको दाबी गर्दै अन्य दललाई सरकारमा ल्याउने र नयाँ सरकार बनाउने विषय सरकारलाई थाहै नभएको बताउनु भयो। अहिलेसम्म कांग्रेस एमालेका तर्फबाट यस विषयमा कुनै छलफल र बहस नै नभएको उहाँको भनाई छ।
यस्तै सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे पनि अहिले सरकारको विकल्पमा जान सम्भव नै नरहेको जिकिर गर्नुभयो। उहाँले अत्यन्त कठिन परिस्थीतिमा मुलुकलाई स्थिर राजनिति दिन अहिलेको सरकार बनेकोले नयाँ विकल्प नै नखोजिने बताउनुभयो ।
नयाँ सरकार बनाउने र सरकारमा जाने विषयमा स्वयं माओवादी अध्यक्ष प्रचण्डसमेत खण्डनमा उत्रिनुभएको छ। अहिलेको सरकारमा जाने र सामेल हुने कुनै नीति नलिइएको भन्दै उहाँले देशलाई संकट परेको बेला आवश्यक विचार दिनेभएपनि राष्ट्रिय सहमतिको नयां सरकार निर्माण गर्ने विषयमा कसैसँग छलफलसमेत नगरिएको जिकिर गर्नुभयो। पछिल्ला केहीदिनदेखी अनावश्यक भ्रम मात्रै फैलाइएको उहाँको आरोप छ।
हुनतः राजावादीहरुको सक्रियताले सबै दल र नेताहरु अहिले त्रसित नै देखिन्छन्। दैनिकजसो हुने सम्बोधनमा गणतन्त्रविरुद्धका गतिविधि सफल नहुने र वर्तमान व्यबस्था विकल्प कुनै नरहेको बताउने गरेका छन्।
राजावादीहरुको पछिल्लो सक्रियता र आन्दोलनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज लोकतन्त्रलाई राष्ट्रिय राजमार्गको संज्ञा दिँदै यसमा ‘ब्याक गियर’ नलाग्ने दाबी गर्नुभयो। उहाँले ब्याक गियर कहिलेकाँही घुम्तीमा अप्ठ्यारो परेको बेला लगाइएपनि राजमार्गमा नलगाइने र लोकतन्त्र नै हाम्रो राजमार्ग रहेकोले पछाडी फर्किने नभै अगाडी बढ्नुपर्ने बताउनुभयो।
उसो त विगतदेखी नेपाली राजनीतिमा पनि हात्तिका देखाउने दाँत र चपाउने दाँत फरक हुन्छन् भन्ने नेपाली उखान लागु हुँदै आएको छ। त्यसकारण अहिले पनि दलहरु बाहिर जेजे बोलेपनि भित्र सोही कायम रहन्छन् भन्न सकिँदैन ।
यद्यपी अस्थिर राजनितीको दलदलमा भाँसिदा देश आज यो अवस्थामा पुगेको मात्रै छैन, ठुलो त्याग र संघर्षबाट प्राप्त भएको वर्तमान व्यबस्था नै धरापमा पुगेको छ । अर्कातिर आम सर्वसाधरणमा चरम असन्तुष्टि चुलिँदै गएको अवस्थामा व्यबस्था विरोधी शक्तिहरुलाई थप बल पुगेको छ।
यसको समाधानका लागी थप स्थीर राजनीति र बढ्दो असन्तुष्टि न्युनिकरणका उपाय अवलम्बन नै हो । तसर्थ यसतर्फ राज्यसँगै सबै दलहरु क्षणिक स्वार्थको रोटी सेक्न नभै जिम्मेवार बन्न जरुरी छ ।