काठमाडौं।।पछिल्लो समय निश्क्रिय प्रायः देखिएको चार दलिय समाजवादी मोर्चा फेरी जुर्मुराउन थालेको छ। खासगरी मोर्चामार्फत संगठीत हुँदै पछी बृहत कम्युनिष्ट पार्टी एकतासम्मै लैजाने सपनामा बनेको यो मोर्चा अन्य समयमा निदाउने र सपनामा झस्किएजस्तै बेलामौका जुर्मुराउने गरेको देखिन्छ।
नेपाली मौलिकता सहितको समाजवाद स्थापना, संविधानको रक्षा, कार्यान्वयन र विकास गर्दै विभेदरहित समाज स्थापनाको बाहनामा एमाले कांग्रेसको काउन्टरका लागी गतवर्षको असारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर यो समाजवादी मोर्चा घोषणा गरेका थिए।
तर, समयसमयमा फेरिने माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपा नेपालको सत्ता लिप्सा र पदिय लोलुपताका कारण जसपा नेपाल मोर्चाबाटै बाहिरिइसकेको छ भने नेपाल समाजवादी पार्टीको महिन्द्रराय यादव समुह प्रवेश गरेको छ। सोही सत्ता स्वार्थका कारण माओवादी र नेकपा एस सरकारमा रहेका बेला निश्क्रिय रहने मोर्चा सत्ताच्युत भएपछी पुनः सक्रिय बन्न थालेको हो ।
सोहीअनुसार प्रधानमन्त्रीबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताच्युत गराउँदै प्रमुख दुई दल कांग्रेस र एमाले सम्मिलित गठवन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछी संविधान संशोधनमार्फत थ्रेसहोल्डको प्रतिशत बढाउने प्रसङ्ग बाहिर आएपछी सशंकित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगाएतका नेताहरु अहिले पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गतेदेखि बढाएको गतिविधीसँगै राजावादीहरुको सक्रियताले त्रसित बनि गणतन्त्र नै जोखिममा देखेपछी यतिबेला फेरी जुर्मुराएका हुन्।
केहिदिन अघि पूर्वराजा शाहको स्वागतमा उत्रिएको जनलहरपछी हौसिएका राजावादीहरुको गतिविधीले मोर्चामा आवद्धसँगै सम्पूर्ण गणतन्त्रवादी दलहरु त्रसित छन्। यसमा विपक्षीमा रहेका मोर्चालगायत दल र नेताहरुले सरकारको नालायकीपन जिम्मेवार रहने टिप्पणी र आरोपसमेत लगाउँदै आएका छन्।
यसकै काउण्टरका लागी मोर्चाले शक्ति प्रदर्शनसहितका कार्यक्रम नै तय गरेको छ। मोर्चाको आज बसेको बैठकले भोली बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र चैत १५ मा काठमाडौँ वृहत विरोध कार्यक्रमका नाममा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ।
नेकपा नेता खड्गबहादुर विश्वकर्माले सरकारका कदमले पछिल्लो समय सक्रिय प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग छलफल र १५ गते गणतन्त्रको पक्षमा हजारौँको प्रदर्शन गर्ने तयारी रहेको बताउनुभयो।
यस्तै देशमा उत्पन्न पछिल्ला गतिविधीले त्रसित मोर्चाको अर्को दल नेकपा एकिकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले सत्तारुढ नाजायज गठबन्धनले देश अस्थिरताको दुश्चक्रमा फसेको तथा विचार र सिद्धान्तहिन गठबन्धन सरकारका कारण पुराना र साम्प्रादायी तत्वहरु सल्बलाउँदा गणतन्त्र नै धरापमा परेको बताउनुभयो। उहाँले सत्ताधारी दल नालायक र अनुत्तरदायी बनेको र सडक अराजकको बनेको आरोप लगाउनुभयो।
मोर्चासँगसँगै यता तिनै विषयवस्तुमा केन्द्रित रहेर एकिकृत समाजवादी पार्टीले छुट्टै आन्दोलनको पनि घोषणा गरेको छ। नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले सरकारमा रहेका दलहरुले निकास दिन नसकेको भन्दै समाजवाद प्राप्तीका लागी निर्णायक आन्दोलन थालिएको बताउनुभयो। जनताले आँफै फालेको व्यवस्था फेरी नल्याउने भन्दै उहाँले केही मुठ्ठीभरका मान्छेले चाहेर राजतन्त्र नआउने ठोकुवा गर्नुभयो।
यता, मोर्चाको मुख्य दल एवं वर्तमान प्रमुख प्रतिपक्षी तथा सरकारसँगै राजावादीहरुको पछिल्ला गतिविधीबाट पनि सबैभन्दा बढी त्रसित माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डले समेत अहिलेका सबै गतिविधीप्रति आक्रोश पोख्दै आउनुभएको छ।
उहाँले सरकारका गतिविधीका कारण गणतन्त्रविरोधी मौलाएकोले यसको विरुद्धमा आउँदो १५गते काठमाडौंको सडकमा उत्रिन सार्वजनिक आह्वान समेत गर्नुभएको छ ।
सत्ता बाहिर रहेका बेला समुह, गुट तथा मोर्चाबन्दीमार्फत देश, जनता,व्यवस्था र अवस्थाको नाममा जनता नै सडकमा उतार्ने अनि क्षणिक मात्रै स्वार्थ मिलेपनि सत्ता लिप्सामा टाँसिन पुगिहाल्ने र आँफैले बोलीको हेक्कासमेत नराख्ने सिमित दल र नेतृत्वकर्ताका कारण देश अस्थिरताको दलदलमा फस्दै गएको छ। त्यतिसँगै व्यवस्थामाथी प्रश्न मात्रै उठेको छैन धरापमै पर्ने जोखिम बढेको छ।
तसर्थ पुरानै शैलिका आरोप प्रत्यारोप, भेला, जुलुस र काउण्टर गतिविधीबाट माथी उठेर वर्तमान व्यवस्थासँगै देश र जनताको अवस्था सुदृढ बनाउनतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता अहम बन्दै गएको छ। अन्यथा आम सर्वसाधरणमा उत्पन्न आक्रोश र असन्तुष्टिले व्यवस्थालाई नै संकट पार्न सक्छ।
००००००