काठमाडौं। कांग्रेस–एमालेबिचको गठबन्धनबाट बनेको वर्तमान सरकारले संविधान संशोधन गर्ने संकेत गरेपछि झस्किएर सुरु भएको मधेशवादी दलहरुको मोर्चावन्दी अहिले सेलाउँदै गएको छ ।
सरकारले गत माघमा संविधान संशोधन गरेर थ्रेसहोल्ड प्रतिशत बढाउने तयारी गरेको हल्ला बाहिर आएपछी मधेशका विभिन्न मुद्दालाई एजेण्डामा उदाएका मधेशवादी दलहरु आफ्नो पहिचान र अस्तित्व नै जोखिममा पर्ने त्रासले एकैठाउँमा उभिने निर्णय गरेका थिए।
यदी थ्रेसहोल्ड बढाएको खण्डमा पार्टीसँगै अस्तित्व नै सकिने डरले एकठाउँमा उभिने निर्णय गरेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लालको तराई मधेस लोकतान्त्रिक पार्टी र ह्रदेयश त्रिपाठीको जनता प्रगतिशित पार्टी नेपाल सम्मिलित मोर्चा निर्माण भएको हो ।
मधेसी, आदिवासी जनजाति, पिछडिएको समुदायको पहिचान र मुक्तिका लागि आवाज उठाउने भनी गठन भएको मोर्चावन्दीलाई पछी पार्टी एकतासम्मै लैजान पनि तयार देखिएका यी आठ दलको मोर्चाले साझा मुद्दा तथा आचारसंहिताको मस्यौदा तयार गर्न कार्यदल नै गठन गरेको थियो।
सुरुवाती चरणमा बसेका उक्त कार्यदलका केही बैठकले सहकार्य गर्ने कुरामा सहमति बनेपनि साझा एजेण्डा तयार हुन नसकेपछी एक महिना पुरा नहुँदैबाट निश्क्रिय प्राय देखिन्छ । अर्कातिर संविधान संशोधनको त्राससँगै तरंगित बनेको यो मोर्चाले सरकारले ल्याएका विवादित अध्यादेशका विषयमा औपचारीक धारणासमेत सार्वजनिक गर्न नसक्दा त्यतिबेलै पनि आलोचना बढेको थियो।
अहिले पनि सोही अध्यादेश सदनबाट पारित गराउन निर्णायक बनेको जसपा नेपाल सरकारसँग वार्गेनिङ्गमा उत्रिँदा र अन्य आपसी मतभेद बढ्दै गएपछी मोर्चाभित्र खटपट सुरु भएको टिप्पणी हुन थालेको छ । तर जसपा नेपाल भने आरोप अस्विकार गर्दै अध्यादेशको विषयमा हिजो पनि र आज पनि स्पष्ट रहेको तथा मधेशी मोर्चाका लागी प्रतिवद्ध रहेको दाबी गर्छ ।
जसपा नेपालका प्रवक्ता तथा कार्यदल सदस्य मनिष सुमनले सोही अध्यादेश र अन्य जनजिविकाका सवालमा मधेशी दल बढी केन्द्रित हुँदा यतिबेला मोर्चा केही सुस्ताएको जस्तो देखिए पनि कार्यदलले आफ्नो काम गरिरहेको बताउनुभयो । अब केहि दिनमै मोर्चा र कार्यदलका बैठक बस्ने तयारीमा रहेको उहाँको भनाई छ।
यस्तै, यो मोर्चाका सुत्राधारसमेत मानिनुभएका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेयश त्रिपाठी यो लुज एलायन्स भएकोले त्यस्तो धमाधम नतिजा नदेखिएको बताउनुहुन्छ। उहाँले मोर्चाले बनाएको कार्यदलले भने आफ्नो काम गरिरहेको यो निरन्तर रहने बताउनुहुन्छ।
यस्तै मोर्चाको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका नेता लक्ष्मणलाल कर्ण पनि मोर्चाप्रति सबै मधेशी दल जिम्मेवार रहेकोले कुनै प्रकारको मतभेद नरहेको र अब होलीलगत्तै मोर्चा पुनः सक्रिय हुने बताउनुहुन्छ।
मोर्चाले अन्य मधेशी दलहरुलाई पनि सहभागी गराउने बताउँदै आएको छ। तर, अन्य केही दलहरु भने यो मोर्चा स्वार्थको गठजोड रहेको आरोप लगाउँदै मोर्चा नै लामो समय नजाने टिप्पणी गरेका छन् ।
नेपाल समाजवादी पार्टीका नेता रमेश यादवले मधेशी जनता र मुद्दालाई लिएर आफ्नो स्वार्थ पुर्ति गर्ने उदेश्यले पटकपटक एकठाउँमा आउने अनि छिन्नभिन्न हुने गर्दा मधेशी जनतामाथी नै धोका भैराखेको बताउँदै यो गठबन्धन पनि धेरै नटिक्ने दाबी गर्नुभयो ।
हुनतः यता, मोर्चा पार्टी एकतासम्मै पुग्नेमा भने स्वयं हृदेयश त्रिपाठी आँफै पनि विश्वस्त देखिनुहुन्न । उहाँले यदी सहमती भैहाले पनि मोर्चा केही समय निरन्तर जाने तर पार्टी एकतामै भने पुग्ने सम्भावना नरहेको बताउनु हुन्छ।
मधेशी दलहरुबिच विगतदेखी नै जुट्ने र फुट्ने क्रम निरन्तर जारी छ। मधेशवादी नेताहरुबिच एकता कायम रहँदा ०५४ सालमा गठीत मधेसी जनअधिकार फोरमले ०६४ सालमा ५२ सिट ल्याएर चौथो ठुलो पार्टीसमेत बनेको थियो।
त्यसपछि आपसी स्वार्थका कारण उत्पन्न मतभेदले पार्टी फुटाउने क्रम सुरु गरका मधेशी नेताहरुले अहिले पनि सोही व्यवहार सुधार्न सकेका छैनन् । जसले पार्टी एकतै भैहाले पनि दिन गनेर विभाजन भैहाल्ने गरेका छन् । फलःस्वरुप अहिले मधेशी दल र नेताहरुलाई आफ्नो अस्तित्व जोगाउनै संकट परेको छ ।