काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको विवादले दुई गुटको विवाद छताछुल्ल भएको छ ।
नेकपाका शीर्ष नेताहरुबीच विवाद चरम उत्कर्षमा पुगेको समयमा शनिबार चितवनमा भएको घटनाले दुई गुटको विवादलाई थप मलजल गरेको छ ।
चितवनमा भएको घटनालाई लक्षित गर्दै नेकपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले वक्तव्य दिएको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाउनुु भएको छ ।
प्रवक्ता श्रेष्ठले घटनाका बारेमा हिजो सामाजिक सञ्जाल ट्विटरमा लेखेको टिप्पणीबारे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख थापाले प्रतिपादपूर्ण जवाफ दिनुभएको हो ।
‘चितवनको कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस्’, श्रेष्ठले ट्विटरमा लेख्नुभएको थियो ।
सोही ट्विटलाई लिएर थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको हो ।
शनिबार चितवनमा प्रधानमन्त्री ओली निकट कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गरेका थिए ।
नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा उहाँकै पार्टी काकार्यकर्ताले विरोध गरेका थिए ।
राप्ती नगरपालिकाको नगर कमिटी बैठकमा बोल्ने क्रममा पाण्डेविरुद्ध नाराबाजी भएको हो । होहल्ला भएपछि बैठक रोकिएको थियो । पटकपटक आग्रह गर्दा पनि शान्त नभएपछि पाण्डे बैठक स्थलबाट बाहिरिनुभएको थियो ।
