काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीरमर्का बुझ्नमा विगतमा केही ठाउँमा चुकेको बताउनुभएको छ । आज धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।
विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको भन्दै उहाँले आगामी दिनमा नियमित रुपमा जनतासँग रहने बताउनुभयो । जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ चाहिएको प्रचण्डले जिकीर गर्नुभयो । सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै संख्याका कारण सरकारमा रहन नसकेको उहाँको भनाई थियो ।
यस्तै अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले कर्णाली, मधेश र सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको दाबी प्रचण्डले गर्नुभएको छ । आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको बताउँदै प्रचण्डल मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको दाबी गर्नुभयो ।