Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

तराई–मधेश जागरण अभियानमार्फत माहोल बनाउने प्रयासमा माओवादी केन्द्र, जनतासंगको अनुभव उत्साहवर्द्धक रहेको दाबी (खास खबर)

तराई–मधेश जागरण अभियानमार्फत माहोल बनाउने प्रयासमा माओवादी केन्द्र, जनतासंगको अनुभव उत्साहवर्द्धक रहेको दाबी (खास खबर)

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 504
    SHARES

  • तराई–मधेश जागरण अभियानमार्फत माहोल बनाउने प्रयासमा माओवादी केन्द्र, जनतासंगको अनुभव उत्साहवर्द्धक  रहेको दाबी (खास खबर)

    काठमाडौं । गत सोमबारदेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी:तराई–मधेश जागरण अभियान’ जारी छ । झापाको कचनकवलदेखि सुरु भएको अभियान कञ्चनपुर पुगेर समापन हुनेछ ।

    माओवादी केन्द्रले आजसम्म भएका कार्यक्रममा जनतासंगको अनुभव निक्कै नै उत्साहवर्द्धक रहेको दाबी गरेको छ । जनतामा सकारात्मक भाव पैदा भएको देखिएको अध्यक्ष प्रचण्डको जिकिर छ । ०८४ मा माओवादी पहिलो पार्टी बन्ने संकेत मिलेको अध्यक्ष प्रचण्डले दाबी गर्न भ्याई सक्नुभएको छ ।

    अभियानमा माओवादी केन्द्रले एमाले कांग्रेससँग मिल्दा जनतासँग मन टुटेको भन्दै आफ्नो पक्षमा माहोल बटुल्ने कोसिस गरिरहेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूहरू जनताका कुरा सुन्न अभियान नै बनाएर अघि बढेको बताउनुहुन्छ ।

    जागरण अभियानमा जनताका मुख्य समस्या के छन् ? समस्यालाई समाधान कसरी गर्ने र पार्टीलाई एकतावद्ध गर्ने लगायतका उद्देश्य रहेको शर्माको तर्क छ ।  माओवादी केन्द्रले आफैंले आफैंलाई रुपान्तरण गर्नुपर्नेमा शर्माले पार्टीभित्र जोड दिदै आउनुभएको छ । जनताका धेरै कुरा पूरा गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्दै शर्माले पार्टी नेतृत्वको टिम नै बदलिनुपर्ने पनि बताउदै आउनु भएको छ । माओवादी पटकपटक सरकारमा त गयो तर जनतातर्फ फर्किन कहाँनिर चुक्यौ त ? भन्दै आत्मालोचनाका साथ जनतामाँझ पुगेको शर्माको तर्क छ ।

    जारी तराई–मधेश जागरण अभियानमा अध्यक्ष प्रचण्ड विगतमा गल्ती गरेको भन्दै जनतासँग क्षमा याचना पनि गरिरहनु भएको छ । कार्यकर्ताकै घरमा बास बस्ने, ‘जनताको मन जित्ने कोसिस’ गरिरहनु भएको छ । उहाँले स्थानीय पान पसलमा गएर पान किनेर खाईरहेका दृश्य पनि आएका छन् ।

    माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आफुहरु यो सरकार गिराउने, बनाउने चक्करमा केही समय नलाग्ने बताउनुहुन्छ । जनताको सन्देश पनि सरकार बनाउनेतर्फ नभएको भन्दै पौडेलले हिजो अधिकार प्राप्तीका लागि संघर्ष गरेका जनतालाई थोरै भएपनि आशाको किरण बाल्ने संकल्प गर्दै जनतामाझ गएको बताउनुहुन्छ ।

    पार्टी भित्र विभिन्न समस्या भएपनि अभियानका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिनुभएको छ । एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको दाबी उहाँको छ । कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै भएकाले त्यो भूल अब नगर्ने पनि प्रचण्डले जनतामाझ बाचा गर्दै हिड्नुभएको छ ।

    प्रचण्डले भेटघाट तथा जनसभाहरूमा पार्टी कमजोर हुनुको कारणका बारेमा पनि कार्यकर्ताहरूलाई बताउने गर्नुभएको छ । तर, प्रचण्डले पार्टीलाई एकतावद्ध र बलियो बनाउँदै लैजाने बताएपनि माओवादीभित्रको विवाद भने यो अभियानका क्रममा पनि प्रकट भएको बताईन्छ ।

    प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गरेको माओवादी केन्द्रले जनाएको छ ।

    अभियानअन्तर्गत मंगलबार मोरङमा र आज बिहीबार सुनसरीमा कार्यक्रम सम्पन्न भएका छन् । फागुन १६ मा सप्तरी, १७ मा सिरहा, १८ मा धनुषा, १९ मा महोत्तरी, २१ मा सर्लाही, २२ मा रौतहट, २३ मा बारा र २४ मा पर्सामा कार्यक्रम हुनेछन् । चितवनमा फागुन २५ गते नेताहरूले सम्बोधन गर्नेछन् । त्यस्तै, नवलपुर (नवलपरासी पूर्व)मा फागुन २६ गते जागरण सभा हुनेछ । फागुन २७ मा परासी (नवलपरासी पश्चिम), २८ मा रुपन्देही, चैत २ मा कपिलवस्तु, ३ मा दाङ, ४ मा बाँके, ५ मा बर्दिया, ६ मा कैलाली र ७ मा कञ्चनपुरमा जागरण सभा सञ्चालन हुने माओवादी केन्द्रले जनाएको छ ।


    बिहिवार, फाल्गुण १५ २०८१०७:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij