काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलायमान पार्टी भएको दाबी गर्नुभएको छ ।
स्व. नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गर्नुभयो ।
देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाइल फोन सबै उपलब्धि कांग्रेसकै कारणले आएको भए पनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिनुभयो ।
नेता कोइरालाले केन्द्रीय कार्यसमितिमा ४० वर्ष भन्दा मुनिका कोही पनि नरहेका गुनासो गर्दै युवाहरूलाई स्वदेशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।
साथै उहाँले १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको बताउँदै भूमिको सही सदुपयोग गर्न सकेमा ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने बताउनुभयो ।