काठमाडौं । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी भयो । पाथीभरामा केबलकार निर्माण र सञ्चालन उचित हो वा होइन भन्ने विषयलाई लिएर अहिले विवाद जारी छ ।
पाथीभरामा निर्माण हुन लागेको केबलकारको विषयलाई लिएर त्यसको पक्ष र विपक्षमा मतमतान्तर भइरहेका हुन् । पाथीभरा मुक्कुमलुङ क्षेत्रमा बन्न लागेको केबलकारको विषयबारे अहिले सडक देखि सदनसम्म बहस र विवाद चलिरहेको छ ।
केबलकार बनाउने र नबनाउने, निजी क्षेत्र र सरकारबीचको अन्तरद्वन्द्व एक महिना बित्दा पनि साम्य हुन सकेको छैन ।
संसद्मा सांसदहरू पाथीभरा क्षेत्रको केबलकारबारे पक्षविपक्षमा बाँडिएका छन् । सांसदहरुले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारका कारण भइरहेको विवादबारे संसद्बाट ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद भट्टराई नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको बताउनुहुन्छ । विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर उहाँको छ ।
पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् । सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिईएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारकै कारण अहिले पाथीभरा मुक्कुमलुङ क्षेत्र अशान्त भइरहेको तर्क गर्नुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ । सांसद तोसिमा कार्कीले बल मार्फत नभएर सरकारले वार्ता मार्फत समस्याको समाधान गरि उचित निकास दिनुपर्नेमा जोड दिनुहुन्छ ।
पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बु सबै सरोकारवालाहरुबीच फेरी सम्वाद र बहस गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ समस्याको समाधान हुनेमा जोड दिनुहुन्छ । स्थानीय सरकारका प्रमुख, सुरक्षानिकाय, क्षेत्र विकास समिति र सरोकारवालाबीचको छलफलबाटै समस्याको समाधान निकाल्नुपर्नेमा उहाँको जोड छ ।
पाथीभरामा केबलकार बनाउने विषयमा एक महिनाअघि ११ माघमा ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा भएको ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
झडपमा दुवै पक्षका गरी ३ जना गम्भीर घाइते भएका थिए । त्यसयता आन्दोलनरत पक्ष र सरकारबीच विभिन्न चरणमा वार्ता तथा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन । पाथीभरा मुक्कुमलुङ लिम्बूहरुको मुन्धुमीस्थल भएकाले केबलकार नबनाउन र सोे क्षेत्रलाई प्राकृतिक रुपमै राख्न आन्दोलनरत पक्षले माग गर्दै आएका छन् ।
यसैगरी, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध भइरहँदा केबलकार निर्माण पक्षधरले ‘केबलकार चाहिन्छ, केबलकार हाम्रो समृृद्धि हो भन्दै सदरमुकाम फुङलिङमा ¥याली निकालेका छन् ।
पाथीभरा दर्शन केबलकार प्रा.लीले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले त्यहाँ केबलकार निर्माणले कुनै धर्म र जाती विशेष या संस्कार संस्कृति एवम् हाल भइरहेका संरचनामा केही असर नपर्ने र थप मजबुत बनाउन सहयोग पु¥याउने दाबी पाथीभरा दर्शन केबलकार प्रा.लिको छ ।
सरकारले पाथीभरामा निर्माण हुन लागेकोे केबलकारको विवादलाई वार्तामार्फत समाधान गरि सद्भावपूर्ण वातावरण निर्माण गर्न ढिला गर्नुहुदैन ।