पाल्पा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनलले पाल्पामा कार्यक्रम सञ्चालन गर्दा राजनीतिक पुर्वाग्रह गरेको देखिएको छ ।
पाल्पाका १० स्थानीय तहमध्ये नेकपाले जितेका सबै ६ तहमा कार्यक्रम गर्ने तयारी गरिएको छ भने काँग्रेसले जितेका कुनै पनि निकायमा कार्यक्रमबारे कुनै जानकारी छैन ।
हेफर इन्टरनेशनलले पाल्पाको तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पुर्बखोला गाउपालिका, रम्भा गाउपालिका, तिनाउ गाउँपालिका र रिब्दिकोट गाउँपालिकाहरुसँग मिलेर कार्यक्रम गर्न लागेको हो ।
अन्य गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भने हेफरले कुनै सम्पर्क नगरेको र राजनीतिक पुर्वाग्रहका आधारमा कार्यक्रमहरु तय गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् ।
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष रानाले गाउँपालिकासँग सहकार्य गर्न चाहने कुनै पनि सरकारी तथा गैरसरकारी वा अन्तर्राष्ट्रिय संस्थाहरुलाई आफूहरुले सधैँ स्वागत गर्ने गरेको बताउनुभयो ।
हेफरले गर्न लागेको कार्यक्रमका बारेमा सोध्दा उहाँले आफूहरुलाई मौखिक तथा लिखित कुनै जानकारी नभएको जवाफ दिनुभयो ।
त्यसैगरी रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, बग्नासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल र रैनादेवी गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले पनि हेफरको कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।
कार्यक्रमका लागि प्रस्ताव गर्न पनि कुनै जानकारी वा सूचना प्राप्त नभएकाले आफूहरुले कार्यक्रमका बारेमा थाहा नपाएको उनीहरुले बताएका छन् ।
हेफरका कार्यक्रम निर्देशक डा. तीर्थ रेग्मीले भने राजनीतिक पुर्वाग्रह नराखिएको दावी गर्नुभयो ।
नेकपाले जितेको स्थानीय निकायमा मात्रै कार्यक्रम गर्न खोजिएको बारेमा नेपाली नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले कार्यक्रम संचालन गर्ने स्थानीय निकायहरुको छनोट उनीहरुको आग्रहकै आधारमा गरिएको स्पष्ट पार्नुभयो ।
“हामीले कुनै पक्षपात तथा पुर्वाग्रह राखेका हैनौ, एप्रोच गर्नुभएकाहरुसँग हामीले छलफल गरेका हौँ,” उहाँले भन्नुभयो ।
परियोजना लागु गर्नका लागि बुधबार भएको छलफलमा नेकपाका नेताहरु मात्रै सहभागी भएका थिए ।
कार्यक्रममा नेकपाको तर्फबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, उपमेयर लक्ष्मी पाठक, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थ रेग्मी, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, पुर्बखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, रम्भा गाउपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो ।
हेफरले सञ्चालन गर्न लागेको कृषि तथा पशुसम्बन्धी व्यवसाय र त्यसको बजारीकरण, महिला समुहहरुको सशक्तीकरणलगायतका कार्यक्रम नेकपाले जितेका यी स्थानीय निकायहरुमा मात्रै सञ्चालन गर्न लागिएको हो भने काँग्रेसले जितेका स्थानीय निकायहरुलाई छानी छानी छुटाइएको हो ।