काठमाडौं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले शहीदमार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्टाइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताउनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले धर्मान्तरका लागि नेपालमा अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो भनेर प्रश्न गर्नुभएको छ । आज प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उहाँले अमेरिकी सांसदले नै कुरा उठाएपछि आज संसद्मा यो विषयले प्रवेश पाएको थियो ।
अमेरिकाबाट सय मिलियन अर्थात, १४ अर्ब रुपैयाँ नेपालमा धर्मान्तरका लागि प्रयोग भएको भनेर भारतीय प्रधानमन्त्री मोदीले भारतीय संसदमा कुरा उठाएको बताउँदै वर्तमान सरकारले चासो नदेखाएको बताउनुभयो ।
यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो माग गर्नुभएको हो । हजार रोपनी भन्दा बढी त्रिविको जग्गा छानबिन समितिको रिपोर्ट गायब भएको भन्दै उहाँले यसबारे संसद्मा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
जग्गा खोजबिन समितिले अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको भएपनि सार्वजनिक नगरिएकाले उक्त प्रतिवेदन सार्वजनिक गर्न सांसद राईले माग गर्नुभएको हो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकाले हतकडी लगाउनुभन्दा पहिला नेपाल सरकारले उद्धार गर्नुपर्ने बताउनुभयो। गैरकानुनीरुपमा बसेका विभिन्न देशका नागरिकहरूलाई अमेरिकाले फिर्ता पठाउन थालेपछि अमेरिकामा रहेका नेपाली पनि नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट हुनसक्ने भन्दै केसीले समयमा नै सरकारको ध्यान जानुपर्ने बताउनु भएको हो ।
त्यसैगरी आम जनता पार्टीका सांसद प्रभु शाहले प्रधानमन्त्रीले संसद्को अपमान गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले शाहले सोधेको प्रश्नको जवाफ नदिएपछि यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाएको आरोप लगाउँदै प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्री भाग्दै संसद्को अपमान गरेको बताउनुभयो । उहाँले लोकतन्त्र हो भने प्रधानमन्त्रीले जनताका प्रश्नको जवाफ दिनु पर्ने बताउनुभयो ।
त्यसैगरी उता राष्ट्रियसभाका सांसद मदनकुमारी शाह(गरिमा) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाईंकी आमा माना दमाईंको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।