काठमाडौं । सत्तारुढ दलको बैठकमा सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गर्ने विषयमा छलफल भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा संलग्न शीर्ष नेताको बैठकमा अध्यादेश स्वीकृत गराउन सबै सकारात्मक रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले सदनबाट अब अध्यादेश पास गर्ने प्रक्रिया अगाडि बढाउने बताउँदै उहाँले बैठकमा सहभागी सबै नेता अध्यादेशका बारेमा सकारात्मक रहेको बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादव बाहिर भएकाले टेलिफोनमा वार्ता भएकोमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँको भनाई थियो ।
यस्तै गृहमन्त्री लेखकले संविधान संशोधन गर्न तुरुन्तै कार्यदल बनाइने बताउनुभयो । कार्यदल बनाउने निर्णय भइसकेकाले अब चरणबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले दुई दलले कार्य प्रारम्भ गर्ने र अन्य दललाई पनि साथमा लिएर अगाडि बढ्ने बताउनुभयो । लेखकका अनुसार १० वर्ष संविधान कार्यन्वयनका क्रममा देखिएका सबल र दुर्बल पक्ष अध्ययन गरी परिमार्जनका विषयमा दलसँग छलफल गर्ने र त्यसपश्चातमात्र संविधान संशोधन हुने प्रक्रिया अगाडि बढ्ने गृहमन्त्री लेखकले बताउनुभयो ।