काठमाडौं। विपक्षी दल नेकपा एकिकृत समाजवादी पार्टीले अध्यादेशमा सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारेको छ । सरकारले कानुन विपरित अध्यादेश ल्याएको भन्दै नेकपा एसले यसमा साथ दिन नसक्ने पार्टी सचिव सोमप्रसाद पाण्डेले बताउनुभयो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता पाण्डेले सरकारले मुलुक र जनताको हितविपरित अध्यादेश ल्याएकोले यसमा साथ दिन नसक्ने प्रष्ट पारेको बताउनुभयो । विगतमा सरकारलाई संकट परेको बेला पार्टी अध्यक्ष माधव नेपालले सहजिकरण गरेर निकाश निकाल्ने गरेको यथार्य भएपनि अहिले त्यो परिस्थीति नरहेको बताउनुभयो ।
नेता पाण्डेले अध्यादेशको विषयमा अहिलेसम्म सरकारले पनि औपचारिक प्रस्ताव नल्याएको र पार्टीभित्र पनि छलफल नभएको बताउनुभयो । उहाँले कांग्रेसले आन्तरिक छलफल गरेपनि नेकपा एसलाई कुनै जानकारी नरहेको जनाउनुभयो। तरपनि मुलुक र जनताको हितमा हुने जुनकुनै विषयमा पनि नेकपा एस सरकारलाई सहयोग गर्न सधैं तत्पर रहेको उहाँले बताउनु भयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेसम्म कुनैपनि पार्टीसँग एकताको कुरा नचलेको बताउनुभयो । आजको परिस्थीतिमा माओवादी केन्द्रसँग एकता गरेर जाने कुनै छलफल र प्रस्ताव अघी नबढेको बताउनु भयो । यद्यपी देश र जनताको हितका लागी जुनसुकै दल र समुहसँग पनि कार्यगत एकता तथा सहकार्य गरेर जान सकिने ठाँउ भने नेकपा एसले सदैव खुला राखेको नेता पाण्डेले बताउनुभयो ।