कठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका भूमिसम्बन्धी अध्यादेश लगायतका सबै अध्यादेश सदनबाट पारित हुने दाबी गर्नुभएको छ । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुने बताउनुभएको हो ।
पछिल्लो समय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला फैलाइएको भएपनि सदनबाट भुमिसम्बन्धि अध्यादेश पारित भएरै छाड्ने उहाँले बताउनुभयो । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालले अहिलेसम्म आफ्नो आधिकारिक धारणा समेत सार्वजनिक नगरेको उहाँको दाबी छ ।
अध्यादेशका बारेमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको बताउँदै उहाँले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाइ संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गर्नुभयो ।
माघ २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले पहिरो रोकथामसम्बन्धी परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविधुत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अघि बढाउन सैद्धान्तिक सहमति प्रदान लगाएतका निर्णयहरु भएको मन्त्री गुरुङले दिनुभयो ।