काठमाडौं । संघीय संसद् सचिवालयले फागुन १५ गते सम्मको संसदीय क्यालेन्डर तयार पारेको छ । क्यालेन्डर अनुसार फागुन ४ गते, ५ गते, ६ गते, ११ गते, १२ गते र १३ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । यी बैठकमा सरकारले पुष र माघ महिनामा ल्याएका विभिन्न ६ वटा अध्यादेशलाई भने कार्यसुचीमा राखिएको छैन् ।
संसद् अधिवेशन नरहेका बेला सरकारले गत पुस र माघ महिनामा विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती सबै अध्यादेश सदनको दुवै सभामा प्रस्तुत भइसकेको छ । अध्यादेश अधिवेशन सुरु भएको पहिलो बैठकमा नै प्रस्तुत गर्नुपर्ने र त्यसको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर अहिलेसम्म अध्यादेशका विषयमा छलफल समेत भएको छैन् ।
अवको फागुन १५ गतेसम्म बस्ने संसद बैठकमा संसद्मा विचाराधीन विधेयकहरू अगाडि बढाउने र विषयगत समितिमा प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची समावेश गरिएको छ ।
यसअघि माघ २४ गते दुवै सभामा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची थियो । अन्तिममा सरकारको आग्रहमा दुवै सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यक्रम झिकिएको थियो । त्यसयता बसेको दुवै सभामा अध्यादेश अगाडि बढ्न सकेको छैन ।