काठमाडौँ । आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएपछि नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको स्वागत गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
बैठकमा उठेका विषय माथिको छलफल र प्रतिवेदनका आधारमा आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । उक्त निर्णयको लगत्तै संघले आयोगको निर्णयको स्वागत गर्दै विज्ञप्ती जारी गरेको छ ।
‘बिदालगायत अन्य विषयमा सरकार सकारात्मक देखिएकोमा प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद दिँदै आवासीय चिकित्सकहरूको कार्यसम्पादनलाई थप प्रोत्साहन दिने र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने संघले विश्वास व्यक्त गरेको छ,’ विज्ञप्तीमा मार्फत भनिएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक आयोगले गरेको निर्णयले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ । यो निर्णयबाट आवासीय चिकित्सकको मनोवल बढ्ने अपेक्षा लिएका छौ । साथै आगामी दिनमा नेपालको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने र चिकित्सकहरूको पेसागत क्षमता अझ वृद्धि हुने विश्वास लिएका छौँ ।’
