काठमाडौं। सभामुख देवराज घिमिरेले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्नुभएको छ।
सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई आज (शुक्रबार) पत्र लेख्दै हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गर्नुभएको हो ।
‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’पत्रमा भनिएको छ ।
पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । पत्रमा सभामुखले भन्नुभएको छ,‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु।’
हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । यसैगरी आज बिहान परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको थियो ।