काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकारसँग बिचौलिया मात्रै खुसी रहेको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभाको आज जारी बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारबाट जनता दुखी र बिचौलिया खुसी रहेको आरोप लगाउनु भएको हो।
बिचौलियासँग मिलेर प्रधानमन्त्रीसहितले महसुल असुली रोक्न त्यो सबै गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ’जे गर्न सक्नुहन्थ्यो र जे गर्न हुँदैनथ्यो। यसबीचमा के भएन ? प्रधानमन्त्रीले रोस्टमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ?’
महसुल उठ्ने सुनिश्चितता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरुलाई बर्खास्त गरिएको, विद्युत् नियमन आयोगको दुरुपयोग गरिएको,प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष बनाइएको, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटकपटक स्पष्टीकरणसहित दुव्र्यवहार गरिएको, पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएको उललेख गर्दै उहाँले त्यो अवैध समितिको खर्च व्यहोर्न प्राधिकरणलाई अनावश्यक दवाव दिइएको बताउनुभयो ।
अहिले जनता सरकारसँग दुःखी भए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी रहेको स्पष्ट गर्दै उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईंहरूले पाएको उन्मुक्ति स्थायी हुने छैन। तपाईंहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैँका लागि हुने छैनन्। म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन्। जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौँ यी अपराधका फाइल। फेरि सुरु गर्नेछौँ लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौँ, बिचौलिया र राजनीतिको गठजोड।’