काठमाडौं। बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सिगास गाउँपालिका–१ माँडौमा आज बिहान जिप दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएको छ।
सुप प्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्।
गम्भीर घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। चालक फरार रहेकोले खोजी जारी छ ।