काठमाडौं। सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धानका लागी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रुपन्देही पुगेका छन्।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि लामिछाने आज अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा पुगेका हुन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने अब भोली बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने छन्।
अदालतमा पेस गरिएको अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ सामूहिक बिगो माग दाबी गरिएको छ । त्यस्तै लामिछानेमाथि व्यक्तिगत दुई करोड पनि बिगो दाबी गरिएको छ।
सरकारी वकिलको कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध नयाँ र आठ जनाविरुद्ध पूरक अभियोजन गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीका विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले बताउनुभयो।