काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालत परिसरमा गत माघ २ गते दिउँसो करिब पौने ४ बजे भएको त्रिपाठी माथिको कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राई रहेकि छन् ।
उनलाई काठमाडौं महानगरपालिका–३२, शान्तिनगरबाट हिजो पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।
योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उहाँले काठमाडौं जिल्ला अदालतमा पीडितका तर्फबाट बहस गर्नुभएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध उहाँ थुनछेक बहसमा सहभागी भएर आफ्नो बहस सकाएपछी बाहिरिने क्रममा अदालतपरिसरमै उहाँमाथि कुटपिट भएको थियो।