काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि माघ दुई गते काठमाडौं जिल्ला अदालत परिसरमै भएको कुटपिटको घटनालाई लिएर अहिले चौतर्फी विरोध भईरहेको छ ।
त्रिपाठीमाथि भएको आक्रमणलाई न्यायालयको स्वतन्त्रता र कानुन व्यवसायीको सुरक्षा विरुद्धको खतरा भनेर कानुन व्यवसायीहरूले मूल्यांकन गरेका छन् । अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटको विरोधमा कानुन व्यवसायीहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो।
आक्रमणपछि आम सर्वसाधरण, विभिन्न राजनीतिक दल, सरोकारवाला निकाय संगै नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले घटनामा दोषीलाई कारबाही गर्न माग गरिरहेका छन् ।
आज सर्वोच्च अदालत बार एशोसिएशनले त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कानुन व्यवसायीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने माग राखेको छ ।
कानुन व्यवसायीहरूले कालो पट्टी बाँधेर शान्तिपूर्ण तरिकाले आफ्नो असन्तुष्टि प्रकट गरेका छन् । यो घटनाप्रति गम्भीर ध्यान दिन आवश्यक रहेको भन्दै कानुन व्यवसायीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानुन व्यवसायीहरुमाथि आक्रमण हुनुले कानुन व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानुनी दायरा फराकिलो बनाउनुपर्ने माग गर्नुभएको छ ।
लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्नेमा कानून व्यवसायीको माग रहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताउनहुन्छ ।
राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रुपले लिनुपर्ने भनाई उहाँको छ। जमात मिलेर न्यायलाई दुत्कार्ने कोशिस न्याय प्राप्तिको लागि हिँडिरहेका कुनैपनि पक्षको लागि उचित नहुने तर्क थापाको छ ।
आक्रमणमा पर्नुभएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानुन व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताउनु भयो । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।
कानुन व्यवसायीहरुले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको तर्क कानून व्यवसायीको छ । यस्ता किसिमका गतिविधिहरु गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग उनिहरुले राखेका छन् ।
माघ २ गते वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतको परिसरमा कुटपिट भएको थियो । त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्कीदेखि काठमाडौंसम्म विभिन्न मुद्दाहरूमा बहस गर्दै आउनुभएको थियो।
त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिइसक्नु भएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ललितकुमार केसीलाई यसअघि पक्राउ गरिसकेको छ ।
आजै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डे छन् ।
अव यो घटनामा प्रहरीको अनुसन्धान संगै राज्य पनि संवेदनशिल बनेर दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न आवश्यक छ । अन्यथा कानुन व्यवसायीमाथिको आक्रमणले न्यायनिरुपणमै वाधा नपुर्याउला पनि भन्न सकिदैन ।