Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सत्ता सहकाकार्यमा कुनै समस्या नरहेको कांग्रेसको निष्कर्ष, समझदारीअनुसार नै कार्य सञ्चालन भइरहेकोे दाबी (खासखबर)

सत्ता सहकाकार्यमा कुनै समस्या नरहेको कांग्रेसको निष्कर्ष, समझदारीअनुसार नै कार्य सञ्चालन भइरहेकोे दाबी (खासखबर)

  • बिहिवार, माघ ३ २०८१

  • 664
    SHARES

  • सत्ता सहकाकार्यमा कुनै समस्या नरहेको कांग्रेसको निष्कर्ष, समझदारीअनुसार नै कार्य सञ्चालन भइरहेकोे दाबी (खासखबर)

    काठमाडौं। दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबारे विपक्षी दलले टिप्पणी गरिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसले एमालेसँग सरकार सञ्चालनमा कुनै समस्या नभएको निष्कर्ष निकालेको छ ।

    नेकपा एमालेसँग सौहार्दपूर्ण सत्ता सहकार्य भइरहेको कांग्रेसले दाबी गरेको हो। आज सभापति देउवा निवासमा पदाधिकारी र संसदीय दलका नेतासहित मन्त्रीहरूको सामूहिक ब्रिफिङ राखिएको थियो ।

    कांग्रेस पार्टीका तर्फबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग कांग्रेसले आज छलफल गरेको होे । गृहमन्त्री रमेश लेखकले सत्ता सहकार्यमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको दाबी गर्नुहुन्छ ।

    उहाँले सरकारको प्राथमिकता नै दुई दलबीचको सातबुँदे समझदारी अनुसार काम गर्ने भएको पनि बताउनुहुन्छ । त्यसमै टेकेर हरेक मन्त्रालयलाई प्रभावकारी बनाउने थप समझदारी र निर्देशन भएको उहाँको भनाइ छ ।

    वर्तमान सरकार धेरै नटिक्ने भन्दै विपक्षी दलले आरोप लगाईरहेका बेला आज नेपाली कांग्रेसका सबै मन्त्रीले के काम भएको छ ? के गर्नुपर्नेछ ? के समस्या छन् भनेर ब्रिफिङ गरेका हुन् ।

    गृहमन्त्री लेखक भन्नुहुन्छ , कांग्रेस र एमालेको सरकारमा समस्या छैन । कुनै बाधा र व्यवधान छैन । बरु आ–आफ्नो मन्त्रालयका काम कसरी राम्रो गर्न सकिन्छ भनेर लाग्नुपर्नेमा उहाँको जोड छ ।

    बैठकमा सभापति शेरबहादुर देउवाले पनि सात बुँदे सहमति अनुसार सरकार सञ्चालनमा एमालेसँग कुनै असमझदारी नभएको बताउनुभएको थियो ।

    नेपाली कांग्रेसले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न पनि निर्देशन दिएको छ । ‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भन्नुभयो ।

    ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकका गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।’ प्रमुख सचेतक घिमिरेले भन्नुभयो ।

    यसैगरि कांग्रेसको आजको बैठकमा भर्खरै जारी भएका अध्यादेशबारे पनि छलफल भएको छ । सरकारले ल्याएका अध्यादेशबारे विपक्षी दलले विरोध गरिरहेको अवस्थामा सत्तारुढ दल नेपाली कांग्रेसले सहमतिमै अध्यादेश ल्याएकाले चर्चा परिचर्चा गर्न आवश्यक नभएको पनि जनाएको छ ।

    कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीसँग छलफल भएरै अध्यादेश आएको बताउनुभएको थियो । सरकारले ल्याएको अध्यादेशको बारेमा महामन्त्री थापाले जानकारी गराउनुभएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताउनुभयो ।

    आज पाँच घण्टासम्म सभापति शेरवहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयले गरेका, गर्न खोजेका कामबारे ब्रिफिङ गरेका थिए । मन्त्रीहरुलाई काममा गति बढाउन सभापति देउवाले निर्देशन दिनुभएको थियो ।

    सरकार गठनको ६ महिना पुग्दा पनि काम नभएको भन्दै आमनागरिक निराश भएका बेला कांग्रेसले आज मन्त्रीहरुलाई जनताका पक्षमा काम गर्न निर्देशन दिएको हो ।


    बिहिवार, माघ ३ २०८१०८:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij