काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । निर्माण व्यवसायीहरूले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने निर्णय भएको बताएका छन् ।
निर्माण व्यवसायीले लामो समयदेखि सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले बताउनुभयो ।
दाहालका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको छ। साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।
यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासङ्घले जनाएको छ।