काठमाडौं । आज पृथ्वी नारायण शाहको ३०३ औं जन्मजयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी उहाँप्रति श्रद्धाशुमन व्यक्त गर्दै मनाइएको छ । पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ, अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो । पृथ्वीनारायण शाह एक राजा मात्रै नभएर, नेपाल एकीकरणका महान् नेता पनि हुनुहुन्छ । आजको नेपाल जुन स्थितिमा विद्यमान छ, यसको निर्माणमा निर्णयात्मक युद्ध पृथ्वीनारायण शाहले लड्नुभएको थियो ।
१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गर्नुभएको थियो जसले अहिलेको नेपाल बनेको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । बाल्यकाल देखि नै उहाँ एकदम कौशल, बुद्धिमानी, शूरवीर, मिहिनेती र ज्ञानी हुनुहुन्थ्यो । सुरूदेखि नै उहाँलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुषवाण, तरबारबाजी तथा घोडसवारीमा उहाँ उत्कृष्ट हुनुहुन्थ्यो भन्ने इतिहास छ । पृथ्वीनारायण शाहको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । पृथ्वीनारायण शाह राजा मात्र नभएर युग पुरूष रहेको इतिहासविद् रमेश ढुङ्गेल तर्क गर्नुहुन्छ ।
विसं १७९९ मा उहाँका पिता नरभूपाल शाहको मृत्युपछि उहाँ विसं १७९९ चैत २५ गते २० वर्षकै उमेरमा राजा बन्नुभयो । त्यस समयमा नेपाल स–साना अर्थात् बाइसे, चौबिसे राज्यमा बाँडिएको थियो र ब्रिटिसहरूको हातमा पर्ने खतरा निकै थियो । यो खतरा पृथ्वीनारायण शाहले देखेर नेपालका सबै राज्यलाई एक बनाउन लाग्नुभयो । पृथ्वीनारायण शाहले स–साना क्षेत्र भिरकोट, कास्की, लम्जुङ्ग गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिनुभयो र आधुनिक नेपालको जग बसाल्नुभयो ।
पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू–भाग नेपाल अधीनस्थ थियो । नेपाल अधिराज्यको इतिहासलाई मान्ने हो भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई स्मरण गर्दै पुर्वराजा ज्ञानेन्द्र शाहले दुनियाँ जेबाट राजी हुन्छन् र आफ्नो धरातलले जे भन्छ त्यसै आधारमा हाम्रो प्रजातान्त्रिक प्रणाली बढी लोक हितकारी बन्ने उल्लेख गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले सबै नेपालीमा यस्तो दिव्य प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, नेपाल चार जात, छत्तिस वर्णको साझा फूलबारी हो, सबैलाई चेतना भया, नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ, घूस लिन्या र दिन्या दुबै देशका बैरी हुन्’ भन्ने उपदेशहरू पृथ्वीनारायण शाहले दिनुभएको थियो । अहिले पनि यी दिव्य उपदेश त्यतिकै सान्दर्भिक छन् । राष्ट्रिय एकताको लागि तत्कालीन समयमा पृथ्वी नारायण शाहले गरेको योगदानले नै नेपालीको पहिचान दिएको भन्दै त्यसलाई सबैले मनन गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ध्रुवबहादुर प्रधान बताउनुहुन्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात र ३६ वर्णको फूलबारीको सृष्टि गर्नुभयो । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाउनुभएको थियो । यो नै आधुनिक नेपालको सुरूवात हो भन्ने बताइन्छ । अहिलेको अवस्थामा पनि सबै राजनीति शक्ति र विचार एक ठाउँमा उभिएर राष्ट्र निर्माण गर्न सक्ने अवस्था सिर्जना गर्न आजको दिनले प्रेरणा प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको भनाई छ ।
पृथ्वीनारायण शाहको जीवनबाट समूहमा काम गर्ने, आफ्नै शक्तिको प्रयोग गर्ने, सीमित स्रोतहरूको उपयोग, असफलताको डर नगर्ने जस्ता कुरा सिक्न सकिन्छ । पुर्खाहरूले नेपाललाई कसैको उपनिवेश हुन नदिएर वीरता कायम राख्दै छिन्नभिन्न नेपाललाई एकताको सूत्रमा बाँधेर राखेपनि अहिलेको परिस्थितले देशमा फेरि एउटा शूरवीरको आवश्यकता देखाएको छ । देशमा विकास र समृद्धिको आशा देखाएर सत्ताको लुछाचुँडीमा रुमलिरहेका अहिलेका राजनीतिज्ञहरूलाई देश विकासमा केन्द्रित हुन पृथ्वी जयन्ती र एकता दिवसले सद्बुद्धि देओस् । आशा गरौं पुनः नेपाली जनता एकताको सूत्रमा बाँधिने छन् र देशले नयाँ मुहार बदल्ने छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धाशुमन !!