काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताउनु भएको छ।
आज काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा उहाँले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको जिकिर गर्नुभयो। यसलाई सहज बनाउन अध्यादेशमार्फत केही कानुन संशोधन गरिएको बताउनुभयो ।
उहाँले शासकीय सुधारसँग सम्बन्धित, उद्योग, व्यवसाय सहज सञ्चालन हुने र सुशासनलाई प्रत्याभूत गर्ने कानुन अघि बढाइएको उल्लेख गर्नुभयो । बढी मूल्य परेपनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति सरकारले लिएको र मुलुकमा उद्योगको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निम्ति महत्त्वपूर्ण निर्णय गरिएको बताउनुभयो । आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो ।