काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । सत्ताधारी कांग्रेस र एमालेबीच संविधान संशोधनबारे मतभेद भइरहेका बेला प्रचण्डले प्रतिपक्षी दलहरूलाई एकजुट बनाउने कसरत गरिरहनु भएको छ ।
आज माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संवादमा जुट्नुभएको थियो । उहाँहरूबीच केही दिनयता निरन्तर संवादमा भइरहेको बताइन्छ । दुई दलबीच एकता सम्भावना टरेको अवस्थामा हाल निष्क्रिय जस्तै बनेको समाजवादी मोर्चालाई ब्युँताउने तयारीसहित प्रचण्ड नेपाल जुट्नुभएको हो ।
सिंहदरबारमा माधव र प्रचण्डले समाजवादी मोर्चा ब्युँताउने दिशामा छलफल गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनुभएका थियो । कांग्रेस र एमालेबीचको सत्ता–सहकार्यमा अनेक अड्कल चलिरहेका बेला प्रचण्डले प्रतिपक्षी दललाई बलियो बनाउन समाजवादी मोर्चा ब्युँताउन माधव नेपाललाई मनाउनुभएको छ । बिहीबार पनि प्रचण्डले माधवसँग संवाद गर्नुभएको थियो । कांग्रेस–एमालेबीच संविधान संशोधनबारे खटपट भएको चर्चाकाबीच विपक्षी दलहरूले मोर्चा कस्ने योजना बनाएका हुन् ।
समाचारअनुसार यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा हुनुहुन्छ । उक्त अध्यादेशलाई छेक्ने रणनीतिसहित प्रचण्डले अन्य दललाई एक ठाउँमा ल्याउने कोसिस गर्नुभएको हो । सरकारले हिउँदे अधिवेशन बोलाउन आलटाल गरिरहेका बेला प्रतिपक्षी दलले त्यसका लागि दबाब बढाउने योजना बनाएका छन् ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विभिन्न दलका नेताहरूसँगको भेटपछि अध्यक्ष प्रचण्डले अब केपी शर्मा ओली नेतृत्वको सरकार लामो समय नजाने तर्क गर्नुभयो । यस्तै राप्रपा अध्यक्ष लिङ्देनले सरकारको अहिलेकै नेतृत्व र व्यवस्थाले जनताको उत्थान नहुने तर्कसहित अब विकल्प खोज्न ढिला गर्न नहुने जिकिर गर्नुभएको छ ।
उता दुई दलले आगामी माघ २ गते अन्य घटकहरूसँग पनि संवाद गरेर समाजवादी मोर्चालाई सशक्त बनाउने निष्कर्ष निकालेका छन् । प्रचण्डसँगको संवादमा समाजवादी मोर्चालाई सक्रिय बनाएर जाने सहमति भएको समाजवादी अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो ।
सुरुमा माधव र प्रचण्डबीच वार्ता भएको सिंहदरबारमा त्यसपछि समाजवादी नेता श्रेष्ठ पुगेका थिए । त्यसपछि राप्रपा अध्यक्ष लिङ्देन मिसिए । लिङ्देनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संवाद गर्नुभएको थियो ।