काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले विद्यालयका विद्यार्थीहरुका लागि ‘भाइबहिनी अभियान’ फेरि संचालन गर्नुभएको छ । कोरोना भाइरसको महामारीका बीच अप्ठेरोमा परेको शैक्षिक क्षेत्रलाई सघाउने उद्धेश्यले फेरि एकपटक यो अभियान भाइटीकाको दिनदेखि शुरु गरेको नेता थापाले सामाजिक संजाल फेसबुकमार्फत जनाउनुभएको छ ।
पूर्व स्वास्थ्यमन्त्री थापाले शिक्षा मौलिक हक भएकोले यसबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नहुने भन्दै सबैले आ–आफ्नो ठाउँबाट विद्यार्थीलाई शिक्षा दिन लाग्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
‘हामीले संविधानमा लेखेका छौं शिक्षा मौलिक हक हो । अर्थात् नेपालका हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नु उनीहरुको हक हो । यसलाई उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो।’ नेता थापाले भन्नुभएको छ, ‘राज्यले संविधानमा लेखेको यो जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउनका निम्ति सांसदको रुपमा गर्ने कामहरु छँदैछ । यतिले मात्र पुग्दैन । नीतिनियम बनाएर, स्रोत साधन विनियोजन गरेर अपेक्षित परिणामका लागि प्रयत्न गर्ने एउटा कुरा भयो । तर यो बीचमा प्रत्येकले आफ्नो ठाउँबाट सानो सानो काम गरेर भए पनि संविधानमा लेखिएको यो कुरालाई प्राप्त गर्न सक्ने दिशातर्फ काम गर्ने हो भने यसलाई मद्धत पुर्याउँछ भन्ने हो ।’
नेता थापाले भाइबहिनी अभियान पहिले पनि सञ्चालन गर्नुभएको थियो । जस अन्तर्गत पढ्ने मौका नपाएकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउने, उनीहरुको अभिभावकत्व ग्रहण गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने काम नेता थापाले गर्दै आउनुभएको छ ।
यो अभियानलाई अझ फराकिलो बनाउने विश्वास दिलाउँदै नेता थापाले भन्नु भएको छ, ‘अलि पछाडि यो अभियानलाई अलि फराकिलो बनाउँदै लिएर जान्छु । अहिलेलाई भने विद्यालय बन्द रहने अवधि सम्मका लागि अर्थात् अबको केही हप्ताहरुसम्म निरन्तर रुपमा म सामाजिक संजालको आफ्नो माध्यमबाट र अरु माध्यमबाट शैक्षिक सामग्रीहरु उपलब्ध गराउने, पठनपाठनमा अप्ठेरो भएकाहरुलाई त्यसमा मद्धत गर्ने र अहिलेको लागि भने मेरो आफ्नो अनलाइन प्लाटफर्महरुबाट यसको निम्ति यो माध्यमहरुलाई प्रयोग गरेर विद्यालयहरुले पढाइरहेको कुरा त भैहाल्यो तर यो भन्दा बाहेक विद्यालयको पढाइलाई मद्धत पुग्ने गरी खास गरी सिकाइलाई मद्धत पुग्ने गरी अभिभावकहरुसँग, शिक्षकहरुसँग जोडिएर केही कार्यक्रमहरु हामीले संचालन गर्नेछौं ।’