काठमाडौं । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि राष्ट्रपति र उपराष्ट्रपति बन्नुभएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने चर्चा अहिले राजनीतिक दलभित्र र बाहिर जताततै छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याउन माओवादीले पद सिर्जना गर्न लागेको विषयमाथि विभिन्न टिकाटिप्पणी सुरु भएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारी बहन गरिसक्नुभएका भण्डारी र पुनका पछिल्ला गतिविधिहरूले दुवैजना दलीय राजनीतिमा फर्किने संकेत गरिरहेको अनुमान राजनीतिक वृत्तमा भइरहेको हो ।भर्खरै मात्र नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय कमिटी बैठक सम्पन्न गरेका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पार्टीमा फर्कने बिषयको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ । पूर्वउपराष्ट्रपति पुन त माओवादी केन्द्रको बैठकमा सहभागि नै हुनुभएको थियो । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा ल्याउनेबारे संस्थागत ढंगले छलफल नभएको बताएको छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा ल्याउनेबारे छलफल नभएको बताउदै बाहिर आएका टिकाटिप्पणी हल्ला मात्र भएको दाबी गर्नुहुन्छ ।
पूर्वराष्ट्रपति भण्डारी अहिले सक्रिय राजनीतिमा नभएको र पार्टीभित्र संस्थागत र व्यक्तिगत ढंगले छलफल नभएको भन्दै यो विषयबारे जानकार नभएको भनाई रिजालको छ ।
पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने बिषयमा माओवादी केन्द्रिय कमिटी बैठकमा अध्यक्ष प्रचण्डसमक्ष जवाफ माग गरिएको थियो । तर अध्यक्ष प्रचण्डले आफुले पुनलाई बैठकमा नबोलाएको र उहाँ आफ्नो ईच्छाले आउनुभएको जवाफ दिनुभएको थियो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पूर्वउपराष्ट्रपति पुन बैठकमा उपस्थित भएपनि उहाँलाई कार्य जिम्मेवारी नदिएको बताउनुहुन्छ ।
त्यसो त, संविधानमा सर्वोच्च पदमा बसेका व्यक्ति राजनीतिमा आउनै नहुने भनेर उल्लेख भने गरिएको छैन । तर, कानूनविद्हरूले संविधानमा नलेखिएको भए पनि पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति पदीय मर्यादाको ख्याल राखेर सक्रिय राजनीतिमा फर्किन नहुने तर्क गर्छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी राष्ट्रपति र उपराष्ट्रपति पद सबैभन्दा ठूलो वरियता भएका कारण मूलुकको सर्वोच्च पदमा बसेको व्यक्ति फेरि राजनीतिमा फर्किनु र सार्वजनिक टिकाटिप्पणी हुनु अशोभनीय रहेको तर्क गर्नुहुन्छ ।
गणतान्त्रिक मुलुकहरूमा सर्वोच्च दुई पद नै राष्ट्रपति र उपराष्ट्रपति हुन् । सर्वोच्च पदमा पुगेपछि त्यहाँ रहँदामा मात्र होइन, उहाँहरुको भुमिका पछि पनि मुलुकको अभिभावको रूपमा रहने गर्दछ ।
सबैभन्दा उच्च तहको पदीय मर्यादामा रहिसकेका कारण पूर्वराजा ज्ञानेन्द्र शाह पनि अहिले सक्रिय राजनीतिमा नआएर सर्वसाधारण नागरिकका हैसियतमा बसेको पनि टिप्पणी पनि हुने गर्दछ । त्यसैले सबैमा सर्वोच्च पदको गरिमाबारे चासो हुनु स्वभाविक पनि मान्न सकिन्छ ।