काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो नलाग्ने बताउनुभएको छ ।
आज काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो। उहाँले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन नसक्ने अवस्था रहेको बताउनुभयो।
उहाँले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने विषय राजनीतिक कारणले अड्किएको जानकारी गराउनुहुँदै शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउने विषयलाई कतिपयले व्यापारको रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रूपमा लिएकाले बताउनु भयो।
प्रचण्डले भन्नुभयो,“पीडितहरूले पटकपटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो। त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन। त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ। तर यहाँ विषय कानुनीभन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन् ।“
अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपु¥याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताउनुभयो ।