काठमाडौं। नेपालको भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको सम्बन्धमा सांसदहरूले गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्नुभएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्र भारतीय नागरिकले खेतिपाती गरेको विषयमा सञ्चारमाध्यममा आएको भन्दै त्यस विषयमा सरकारले के गरिरहेको छ ? भनेर पन्तले प्रश्न गर्नुभएको छ ।
गृहमन्त्री लेखककै निर्वाचन क्षेत्रसमेत रहेको क्षेत्रमा भारतीयले नेपालको भूमि भोगचलन गरेको विषयमा त्यहाँ स्थानीय प्रशासनदेखि सरकारले के गरिरहेको छ र त्यसको वास्तविकता के हो भनेर सांसद पन्तले प्रश्न गर्नुभएको हो ।
भूमि नेपालको नक्सामा तर भोगचलन भारतले गर्ने कार्य ठीक नभएको कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।