काठमाडौं । पछिल्लो समय राजनीतिक दलका शिर्ष नेताले भ्रष्टाचारका बिषयमा विभिन्न खालका अभिव्यक्ति दिइरहेका छन् । भ्रष्टाचारका बिषयमा सत्तापक्ष र प्रतिपक्षी एकले अर्कोलाई दोषारोपण गरेका अभिव्यक्तिहरु सार्वजनिक भएका हुन् ।
भ्रष्टाचारका बिषयमा दलका शिर्ष नेताले एकले अर्कोलाई घोचपेच गरेका अभिव्यक्ति फितलो भएको टिप्पणी पनि हुन थालेको छ।
सरकारमा बसेको दलले प्रतिपक्षीको भ्रष्टाचारको फाईल खोल्छु भन्ने र प्रतिपक्षमा पुगेपछि मैले फाईल खोल्न थालेका बेला सरकारबाट हटाइयो भन्ने खालका टिप्पणी गर्न थालेपछि आम नागरिकमा राम्रो सन्देश जान सकिरहेको छैन ।
केहिदिन पहिले झापाबाट प्रधानमन्त्री के पी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभएको थियो, गिरिबन्धु फाइल खोलेरै छाडिन्छ । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा पुगेर प्रचण्डले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने बताउनुभएको थियो ।
सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा जोड दिनुहुन्छ ।
यस्ता खालका अभिव्यक्तिले समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न गएकोले एकीकृत रुपमा समाधान खोज्नुपर्नेमा थापाको जोड छ । थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन–कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको टिप्पणी गर्नुहुन्छ ।
प्रचण्डले आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गर्नुहुन्छ । आफ्नो नियत र निष्ठा सफा भएको दाबी प्रचण्डको छ । बेलाबेला आफु भावुक हुने गरेको र कहिलेकाहि शव्द तलमाथि हुने भन्दै प्रचण्डले प्रधानमन्त्री ओली लक्षित पुरानो अभिव्यक्तिको बचाउ गर्नुभएको छ ।
भ्रष्टाचारबारे एकले अर्कोमाथि दोषारोपण गरेका अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्ता वाहिर गएपछि सवैभन्दा धेरै पवित्र हुने तर सत्तामा बस्दा भुल्ने प्रवृति भन्दै टिप्पणी गर्नुभएको छ ।
केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्नेमा सुझाव पनि दिनुहुन्छ ।दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने केसीको तर्क छ ।
समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिन नहुने युवा नेताहरु बताउछन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन प्रचण्डसमक्ष आग्रह गर्नुहुन्छ ।
यतिखेर राजनीतिक नेतृत्व काम भन्दा बढि प्रतिकृयामा रमाइरहेको छ। नेतृत्वले एकअर्काको निन्दामा समय खेर फालिरहेका छन्। निन्दा र दोषारोपण गर्नुको साटो प्रतिपक्षी दलले सरकारलाई राम्रो काम गर्नका लागि खवरदारी गर्नुपर्छ । र सरकारले पनि प्रतिपक्षीको आवाज सुन्दै जनसरोकारका बिषयमा ध्यान दिनु जरुरी छ ।