काठमाडौं। प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले आज सहकारी ठगी, सङ्गठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागसहित रास्वपा सभापति रवि लामिछानेसहित ३८ जनालाई प्रतिवादी कायम गरी १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३८ जनालाई प्रतिवादी कायम गरिएको छ।
उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धान खुलेको छ। प्रतिवेदनमा दिपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रतिवादी कायम गरिएको छ।