काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित हुनुभएपछि नेता डा. भीम रावलले आज पहिलो पटक काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्नुभयो । आगामी राजनीतिक यात्राबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोशित हुँदै प्रश्न सोधेर समय कटाउनुभएको थियो ।
पत्रकार सम्मेलनमार्फत आज रावलले नयाँ पार्टीको घोषणा गर्ने चर्चा थियो । तर, उहाँले नयाँ पार्टीको घोषणा गर्नुभएन । एमालेबाट निकालिएपछि रावलले अब ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गर्नुभएको छ । उहाँले मातृभूमि जागरण अभियान चलाउने घोषणा गर्नुभएको हो । झण्डै साँढे २ घण्टा समय खर्चिनुभएका रावलले कम्युनिष्ट पार्टीमा ५१ वर्ष लामो योगदान र एमाले नेतृत्वले गरेको कारबाहीबारे चर्चा गर्नुभयो । रावलले आफ्नो पार्टी जीवनको ४९ वर्ष र राजनीतिक जीवनको ५१ वर्ष केपी ओलीले खोसेको आरोप लगाउनुभएको छ ।
रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताउनुहुन्छ । ओलीविरुद्ध उम्मेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिने सम्मको अवस्था आएको उहाँको दाबी छ । रावलले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहनुभएका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिनुभएको छ । र उहाँले आफ्नो भावी योजना पनि प्रस्तुत गर्नुभएको छ । पत्रकार सम्मेलनमा रावलले देश र जनताको अवस्था दयनीय बनाइएको मात्र टिप्पणी गर्नुभएन सत्ताको बागडोर लिएकाहरूले भ्रष्टाचारलाई प्रशय दिइरहेको आरोप पनि लगाउनुभएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै कविता वाचन गरी बोल्न सुरु गर्नुभएका रावलले कविता मार्फत ओलीमाथि व्यंग्य गर्नुभएको थियो । रावलले एमालेमा विभाजन गर्न खोज्नेहरूलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरूलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोख्नुभयो । ओलीले आफूलाई पूर्वाग्रही शैलीमा हटाएको भन्दै कार्यक्रम अवधिभर आक्रोश पोखिरहनुभयो ।
रावलले ओलीलाई सयौँ प्रश्न सोध्दै ओलीको असहिष्णु व्यवहार र तानाशाही प्रवृत्तिका कारण नेकपा एमाले हाल रङ खुइलिएको ‘बामाले’ बनेको टिप्पणी पनि गर्नुभएको छ । यता,एमाले नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले रावललाई उत्तेजित नहुन र आवेशमा नआउन सुझाव दिनुहुन्छ । एमाले अध्यक्षका रुपमा केपी ओलीको नेतृत्व सफल भएको दाबी थापाको छ । ओलीले सफलतापूर्वक पार्टीलाई हाँक्नुभएको थापाको जिकिर छ ।
पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको रावलको भनाइ छ । नेकपा एमालेले भीम रावललाई निष्कासन गरेपछि नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले टिप्पणी गर्दै नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको थियो ।
पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै भुसालले ओलीले एमाले नेतृत्व नछोडे नेताहरूको उकुसमुकुस अझै बढ्ने जिकिर गर्नुभएको थियो । आजको पत्रकार सम्मेलन मार्फत पनि नयाँ भिजन र नयाँ पार्टी कस्तो हुन्छ भनेर रावलले कुनै प्रष्ट कार्ययोजना ल्याउनुभएन । पत्रकार सम्मेलनमा रावलले तत्काल पार्टी घोषणा नगर्ने र देशभर जनजागरण अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।
मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने रावलको भनाई छ । रावलले सार्वजनिक गरेको प्रेस नोटमा देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको उल्लेख छ । एमालेबाट निष्कासनमा पर्ने बित्तिकै रावलले नयाँ पार्टी गठन गर्ने तयारी गर्नुभएको चर्चा थियो ।त्यसका लागि उहाँले केही प्रभावशाली नेताहरूसँग छलफल पनि गर्नुभएको थियो ।