Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित, बीपीको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक (खासखबर)

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित, बीपीको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक (खासखबर)

  • मंगलवार, पौष १६ २०८१

  • 432
    SHARES

  • राष्ट्रिय एकता तथा मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित, बीपीको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक (खासखबर)

    काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएका छन् ।

    प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज कांग्रेसले मेलमिलाप दिवस मनाएको हो।

    विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो ।

    भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किनुभएको हो। देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फकिनुभएको थियो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताउनु भएको छ । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उहाँको भनाइ छ ।

    कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।

    सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो ।

    रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता एवंम पूर्वमन्त्री डा. नारायण खड्काले देशको स्वतन्त्रता र सार्वभौमता बचाउने सिद्धान्त लिएर बिपी स्वदेश फर्किनुभएको बताउनुहुन्छ ।

    आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी बिपीलाई सम्झिएका छन् । तर अहिले कांग्रेसले बिपीको बाटो छाडेको छ । कांग्रेस केन्द्रिय सदस्य नैन सिंह महरले कांग्रेस बिपीको रोडम्यापमा पुरै जान नसकेपनि समय अवस्था र चेतना फेरिएकाले कांग्रेसको बाटो थोरै फेरिएको स्वीकार गर्नुहुन्छ ।

    प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस केवल औपचारिकतामा मात्र केन्द्रित हुने गरेको छ । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

    मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ ।

     


    मंगलवार, पौष १६ २०८१०८:०६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij