काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताउनुभएको छ । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उहाँको भनाइ छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज बिहान सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पूर्व होस अथवा पश्चिमका विभिन्न चाहनाहरुलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सकिने स्पष्ट पार्नुभयो ।
कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि उहाँको भनाइ छ ।
सबै नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन नेपाली कांग्रेसले मात्रै सक्ने भन्दै उहाँले त्यसका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे पनि नीतिगत नेतृत्व भने नेपाली कांग्रेसले गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता रहेको बताउनुभयो ।