Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली आलोचनाको घेरामा, दबिएका आवाज भुसको आगो झैं सल्किँदै (खासखबर)

एमाले अध्यक्ष ओली आलोचनाको घेरामा, दबिएका आवाज भुसको आगो झैं सल्किँदै (खासखबर)

  • शनिवार, पौष १३ २०८१

  • 1.2K
    SHARES

  • एमाले अध्यक्ष ओली आलोचनाको घेरामा, दबिएका आवाज भुसको आगो झैं सल्किँदै (खासखबर)

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौतर्फी आलोचनाको घेरामा जेलिएका छन् । बाहिर चर्को रुपमा आलोचनाको आवाज उठेपनि पार्टीभित्र भने ओलीको राणाशासन शैलीले दबिएका आवाज भुसको आगो झैं सल्किँदै छन्।

    पार्टीभित्र आफ्ना विरोधीलाई किनारा लगाउन माहिर ओली यतिबेला पार्टीका पूर्वउपाध्यक्ष भीम रावलमाथि कारबाहीको तिर चलाएर आलोचनाको केन्द्रमा छन् । आफ्नो जयजयकार गर्नेलाई मात्र काखी च्याप्ने ओली प्रवृत्ति अगामी समयमा उहाँलाई नै भारी पर्ने देखिन्छ ।

    भर्खरै मात्र ओलीले पार्टी अनुशासन विपरीत बोलेको भन्दै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासित गर्नुभएको छ भने बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । ओलीको यो कदमलाई लिएर पार्टीकै केही नेता र आम रुपमा चर्को आलोचना भइरहेको छ ।

    एमालेमा अध्यक्ष ओलीले पार्टीलाई ‘निजी कम्पनी’ जस्तो बनाएको भन्दै तीव्र असन्तुष्टि बढे पनि सार्वजनिक गर्न नेताहरू तयार देखिँदैनन् । पूर्व एमाले नेता एवं एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको दाबी गर्नुभएको छ ।

    एमाले आफूहरूले लडेर बनाएको पार्टी भएको बताउँदै उहाँले अध्यक्ष ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिनुभएको छ। हालको अवस्थामा ओलीका सबै प्रयोग असफल भएको भन्दै उहाँले पार्टीको नेतृत्व छाड्नु हितकर हुने बताउनुभयो ।

    एमालेका पदाधिकारीहरू ओलीले सामूहिक छलफल र छलफलको निष्कर्ष निकालेर काम गर्ने अभ्यास छोडिसकेको बताउँछन्। दोस्रो पटक अध्यक्ष बनेपछि ओलीमा अझ बढी दम्भ देखिएको उहाँकै निकटस्थ नेताहरू स्विकार्छन् ।

    यद्यपि एमालेका मुख्य सचेतक महेश बर्तौला भने यी कुराहरूलाई अस्वीकार गर्नुहुन्छ । उहाँले एमालेमा त्यस्तो कुनै उकुसमुकुस नरहेको दाबी गर्दै लोकतन्त्रको नाममा अनुशासनहीनता र अराजकता स्वीकार्य नहुने जिकिर गर्नुभयो ।

    एमालेमा नेतृत्वको कारण दुईपटक एमाले विभाजन भइसकेको छ । २०५४ सालमा नेपालगञ्ज महाधिवेशनबाट पहिलोपटक पार्टी विभाजन भएको थियो । अर्को २०७९ साल भदौमा माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ ।

    अहिले जसरी एमालेमा आन्तरिक रूपमा ओलीले आफ्ना निर्णयप्रति असहमति जनाउनेलाई किनारा लगाउँदै गएका छन्, त्यही हिसाबले किनारीकृत परेकाहरूले विकल्प नखोज्लान् भन्न नसकिने एमाले नेताहरू नै स्वीकार्छन्। पार्टी विभाजनको अवस्था नआए पनि ओलीको विकल्प खोज्ने अवस्थामा एमाले नआऊला भन्न नसकिने एमाले नेताहरू नै बताउँछन् ।

     

     


    शनिवार, पौष १३ २०८१०८:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij