काठमाडौं। नेकपा एमालेबाट निष्कासित भएपछि पूर्वउपाध्यक्ष भीम रावलले अव के गर्नुहोला भनेर धेरैमा जिज्ञासा भएको छ ।
अन्य कुनै पार्टीमा जान लाग्नुभएको हो कि, नयाँ पार्टी गठनको गृहकार्यमा लाग्नु भएको हो भन्ने धेरैले चासो, चिन्ता र टिप्पणी गरिरहेका छन् । तर नयाँ पार्टी खोल्न पनि रावललाई थुप्रै चुनौति रहेको तर्क पनि आईरहेका छन् ।
एमालेबाट निष्कासनमा परेपनि भीम रावल आफु बिचलित नभएको बताउदै आउनुभएको छ । एमालेले भीम रावललाई कारबाही गर्नुअघिदेखि नै नेकपा एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीमा आउन आग्रह गरिरहेका थिए ।
तर रावल भने निष्कासनबाट आफु विचलीत नभएको र आफुलाई केहि पनि फरक नपर्ने भन्दै भखरै अन्य कुनै पार्टीले बोलाए भन्दैमा नजाने बताउनुहुन्छ । के पी ओलीले भन्दा बढि संगठन निर्माण आफुले गरेको रावलको दाबी छ ।
नेकपा एमालेले पार्टी अनुशासन विपरीतका कार्यहरू गर्दा पूर्वउपाध्यक्ष भीम रावललाई सुध्रिने मौका पनि दिएको बताएको छ । एमाले नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले रावललाई उत्तेजित नहुन र आवेशमा नआउन सुझाव दिनुहुन्छ ।
भण्डाफोर, निन्दाको बाटोमा नलाग्न उहाँले रावललाई आग्रह गर्नुहुन्छ । निन्दा र भण्डाफोरले माधव नेपाल, प्रचण्ड, सीपी मैनाली, वामदेव गौतम लगायतका कोही पनि पार नलागेको बताउँदै थापाले भीम रावल पनि पार नलाग्ने तर्क गर्नुहुन्छ।
भीम रावललाई एमालेले पार्टीबाट निष्कासन गरेपछि अहिले पार्टी भित्र र बाहिर ठुलै हल्ला खल्ला नै भएको छ। फरक बिचार राख्दैमा पार्टीबाटै निष्कासन गर्ने एमालेभित्र कस्तो खालको लोकतान्त्रिक चरित्र रैछ भन्दै प्रश्न पनि उठिरहेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले रावलले गरेका कुरा अनुशासनका दायराभन्दा बाहिर छन् भन्ने कुराको प्रमाण जुटाउनै नपर्ने बताउनुहुन्छ। रावल आफू जिम्मेवारी रहेको ठाउँमा भने कार्यकर्ताहरूलाई जंगी अनुशासनमा राख्न खोज्ने तर आफुले अनुशासन नमान्ने तर्क पोखरेलको छ ।
भीम रावल कारबाहीमा परेको बिषयबारे नेपालका सबै राजनीतिक दलहरुले वैचारिक पक्ष छाडेको टिप्पणी विश्लेषकहरुको छ। एमाले केपी शर्मा ओलीको पालाबाट मात्रै विचारमा स्खलित नभएको उनिहरुको तर्क छ।
नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले एउटा मात्रै पार्टीमा होईन, सबै राजनीतिक दलमा जुन विचारधारा बोकेर आएको भनिएको छ, त्यो विचारधारा नभएको बताउनुहुन्छ ।
बुधबारको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो। सचिवालय सदस्यहरूको विरोधका बाबजुद नेताहरूमाथि कारबाही गरेको विषयमा एमालेभित्र र बाहिरसमेत चर्चा भइरहेको छ ।
पछिल्लो समय रावलले एमालेको केन्द्रीय कार्यालय भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बनाइदिने निर्णयको कडा आलोचना गर्नुभएको थियो । रावलले एमाले र अध्यक्ष ओली ‘बिचौलियाको पन्जामा पुगेको’ अभिव्यक्ति दिनुभएको थियो ।