काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको शक्तिसाली सरकारले पनि कुनै काम गर्न नसकेको बताउनुभएको छ। आज कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उहाँले सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गर्नु भएको हो।
पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गर्दै मेयर बालेनले भन्नुभयो,‘यहाँका जग्गाधनीले पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन। कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो, यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन। कुनै पनि प्रोसेस भएको छैन। व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो। यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् ।’
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने उहाँको भनाइ थियो। उहाँले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गर्दै यहाँको छुट्टै पहिचान झल्कने गरेर काम गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।