काठमाडौं। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना रहेको दाबी गर्नुभएको छ। आज भक्तपुरमा आयोजित मध्यपुर महोत्सव २०८१ को उद्घाटन समारोहमा बोल्दै उहाँले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने जिकिर गर्नुभयो।
उहाँले यस्ता मेला महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन र अवसर सिर्जनामा टेवा पु¥याउने बताउनुभयो। उहाँले भन्नुभयो,‘‘हाम्रा पुर्खाले हामीलाई सिकाएर गएका सिपहरू, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पु¥याउँछ भन्ने मलाई विश्वास छ।’’
उहाँले थप्नुभयो,‘‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ। काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ। यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनक लागि महोत्सवले धेरै ठुलो प्रत्यक्ष रूपमा प्रभाव पार्छ।’’
मध्यपुर महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु ल्याउन मद्दत गर्ने उहाँले विश्वास पनि व्यक्त गर्नुभयो।