काठमाडौं । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले अहिलेकै अवस्थामा नेकपा नफुट्ने दावी गर्नु भएको छ । नेतृत्वमा रहेका र आकांक्षा राखेका सवै नेताहरु बृद्ध र अशक्त हुदै गएकाले नयाँ पार्टी निर्माण गर्न उहाँहरुले नसक्ने नेता रिजालको भनाई छ ।
“पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर नयाँ पार्टी निर्माण गर्न उहाँहरुले सक्नुहुन्न, त्यसैले अहिलेको पार्टी विभाजन गरेर नयाँ पार्टी बनाउन उहाँ आँट गर्नुहुन्छ भन्ने मलाई लाग्दैन,” उहाँले भन्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता रिजालले पार्टी कमिटिमा पेश भएका दस्तावेजका बारेमा पार्टी कमिटिमै छलफल गरेर टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “जे जति विवाद, अविश्वास र समस्या छन्, ती सवै पार्टी कमिटिमै छलफल गरेर निकास निकाल्नुपर्छ ।”
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन फिर्ता नलिँदासम्म सचिवालय बैठक नबोलाउने बताइरहेका बेला नेता रिजालले सवै विषयमा बैठकमै छलफल हुनुपर्नेमा जोड दिनु भएको हो ।
उहाँले बैठकबाट भागेर हैन, छलफल गरेर नै समस्याको निकास निकाल्न सकिने र छलफलबाट सहमतीमा पुग्नुको विकल्प नभएको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा भएका सहमती र आश्वासनहरुलाई कुल्चेकाले पनि अहिले अविश्वास थप बढेको नेता रिजालको विश्लेष्ण छ ।
पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाललाई सरकार र पार्टीका कुनै पनि निर्णयमा प्रधानमन्त्री ओलीले सल्लाह नगर्ने र संकट परेका बेला मात्रै गुहार माग्ने गरेको उहाँले टिप्पणी गर्नुभयो ।
“सरकारले अहिलेसम्म साढे चार सय नियुक्ति गर्दा माधव नेपालसँग छलफल भएन, अहिले संकट आएपछि मात्रै तपाईले साथ दिनु पर्यो भन्ने गरिएको छ,”रिजालले भन्नुभयो । नेता नेपाल निकट मानिनु हुने उहाँले पार्टी भित्रको विवादमा नेता नेपाल कुनै पक्षमा नभई आफ्नै पक्षमा र विधिको पक्षमा रहेको बताउनुभयो ।