काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाउनु भएको छ ।
आज चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबिच गठबन्धन गर्नुपरेको समेत बताउनुभयो।
३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उहाँले बताउनुभयो।
महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गर्नुभयो। अहिले ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उहाँको भनाई छ ।
त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताउनुभयो।